उखान टुक्काले देश बन्दैनः देउवा

कैलाली, चैत २८ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उखान टुक्काले देश नचल्ने भन्दै राष्ट्रियताका विषयमा गम्भीर भएर अभिव्यक्ति दिन एमाले नेताहरुलाई आग्रह गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गर्दै सभापति देउवाले भने–‘ओली भन्दा राम्रो उखान टुक्का भन्न सक्ने कलाकारहरु पनि थुपै्र छन् । उखान टुक्काले देश बन्ने भए राम्रो उखान टुक्का भन्न सक्नेहरुलाई अध्यक्ष बनाए भईहाल्यो नि !’

कैलालीको अत्तरियामा काँग्रेसले आयोजना गरेको प्रदेशस्तरीय सभालाई आइतबार सम्बोधन गर्दै उनले एमालेले पहाडी र मधेसी समुदायबीच द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाए । भाषणका क्रममा एमालेप्रति खनिएका देउवाले राष्ट्रियता विरोध तत्व भनेर मधेसीलाई चिढ्याउने काम एमालेले गरिरहेको भन्दै आक्रोश पोखे ।

उनले सीमा क्षेत्रमा देशको भूमि रक्षा गरेर बसेका मधेसी समुदायको राष्ट्रियताको विषयलाई लिएर टीप्पणी गर्नु गलत भएको बताए ।
‘बोर्डरको सुरक्षा कहीँ मधेसीले र कहीँ पहाडीले गरिरहेका छन् । सीमाको सुरक्षा गरेर बसेका दाजुभाई चिढाएर मधेसी र पहाडीबीच झगडा गराउने षड्यन्त्र भईरहेको छ ।’ देउवाले भने–‘मधेसी र पहाडीलाई भाड्ने काम गरिनु हुन्न ।’
समुदायबीचको झगडाले राष्ट्रियता कमजोर हुने भएकाले राष्ट्रियता बलियो बनाउन देशभित्रका समुदाय एक भएर बस्नुपर्ने उनले बतँए । एमालेप्रति लक्षित गर्दै उनले पहाडीसंग मधेसीको र मधेसीसंग पहाडीको विरोध गरेर जनता लडाउने काम भईरहेको बतँए । उनले मधेसी र पहाडीको एकताले मात्रै राष्ट्रियता बलियो हुने देउवाले बताए ।

विशेष, संरक्षित क्षेत्रका माध्यमबाट यही प्रदेशभित्र यहाँका थारु र रानाथारु समुदायका अधिकारको सुनिश्चितता गर्न सकिने धारणा देउवाले राखे । दाङबाट आएका थारु समुदाय र पहाडका विभिन्न जिल्लाबाट आएका पहाडी मिलेर बस्नुको विकल्प नरहेको उनले बताए ।
‘हामी यहाँ आईसकेपछि अब डोटी, डडेल्धुराका हैनौं, कैलालीका बासिन्दा हौं । कैलाली, कञ्चनपुरमा बस्ने पहाडी अब डडेल्धुरा, बैतडी जान सक्दैनौं र थारु समुदाय पनि दाङ जान सक्दैनन् ।’ देउवाले भने–‘सबै मिलेर बसौं, थारु समुदाय केही पछाडि परेको छ, उनीहरुका अधिकार सुनिश्चितताका लागि पहाडीले पनि सहयोग गरौं ।’

आन्तरिक रुपमा बलियो हुनसके नेपाल १० वर्षमै धनी बन्न सक्ने देउवाको भनाई थियो । देउवाले विदेशी सहयोगमा सामाजिक सुरक्षा भत्ता दोब्बर पारेर एमालेले भत्ता दोब्बर पारेको आफ्नो प्रचार गरिरहेको भन्दै स्थानीय चुनावमा आफ्नो पार्टीले जिते सामाजिक सुरक्षा भत्ता अहिलेको भन्दा दोब्बर पारिने बताए ।

उनले काँग्रेसले मात्रै विदेशी सहायता भित्र्याउन सक्ने भएकाले चुनावमा काँग्रेसलाई विजयी गराउन आग्रह गरे । ‘हामीलाई विदेशीले पत्याउँछन । हामीले मात्र विदेशी सहयोग ल्याउन सक्छौं ।’ देउवाले भने–‘हामीले ल्याइदिएको विदेशी सहायता बाँड्ने, अनि भत्ता बढायौं भन्ने ?’

सुदूरपश्चिममा धनगढी–अत्तरिया ६ लेन सडक, खुटिया–दिपायल द्रुत मार्ग, सेती लोकमार्ग, पश्चिम सेती जलविद्युत आयोजना लगायत विकासका आयोजनाहरु अगाडि बढेका उनले बताए । जलविद्युत, पर्यटनको विकास हुनसके प्रदेश नम्बर सात सबै भन्दा सम्पन्न प्रदेश बन्ने भन्दै देउवाले यहाँको विकासका लागि आफ्नो पार्टीले पहल गरिरहेको बताए ।
सभालाई सम्बोधन गर्दै काँग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेलले शान्ति र संविधानको नेतृत्व गरेको काँग्रेसले अब समृद्धिको नेतृत्व गर्न चाहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लैजान चुनाव भइरहेकाले स्थानीय चुनावमा मत दिएर काँग्रेसलाई समृद्धिको नेतृत्व दिन उनले आग्रह गरे ।
कम्युनिष्टले समस्यामात्र सिर्जना गर्नसक्ने तर समाधान दिन नसक्ने भएकाले नेपालमा काँगे्रसको विकल्प नभएको दावी पौडेलले गरे । रुस, उत्तरकोरिया, आदि देशको उदाहरण हेर्दा पनि कम्युनिष्टहरु समाधान दिन सक्दैनन् भन्ने पुष्टी हुने उल्लेख गर्दै उनले भने–‘लोकतन्त्रले समाधान दिन्छ, साम्यवादले हैन ।’

सभामा देउवा र अन्य काँग्रेसका नेताहरु जस्तै पौडेल पनि प्रतिपक्षी दल एमालेमाथि खनिए । एमालेले हिमाल, पहाड र तराईबीच अन्तरविरोध ल्याउन खोजेको आरोप पौडेलले लगाए । उनले एमालले आफ्ना कुराको खण्डन केही समयपछि आफै गर्ने भएकाले एमालेले भनेका कुराको खण्डन गर्न लाग्नु आवश्यक नभएको बताए ।

निर्वाचन नभए संविधान असफल हुने र संविधान असफल हुँदा संघीयता धरापमा पर्ने भएकाले सबै दल निर्वाचनमा जान सहमत हुनुपर्ने धारणा पौडेलले राखे । बैशाखमा स्थानीय तहको निर्वाचन भए कार्तिक–मंसिरमा प्रदेश र केन्द्रको चुनाव गर्न सकिने भएकाले तोकिएको मितिमै स्थानीय चुनाव हुनुपर्ने बताए ।

नेता पौडेलले पार्टीमा पु¥याएको योगदान, चुनाव जित्न सक्ने र जितेपछि काम गर्न सक्ने उम्मेदवारलाई टिकट दिनुपर्ने बताए । ‘उम्मेदवार छान्ने जिम्मा पार्टी क्षेत्र र जिल्लालाई दिएका छौं । योगदान, चुनाव जित्न सक्ने र काम गर्नसक्ने उम्मेदवारलाई टिकटका लागि छान्नोस् ।’ उनले भने ।
उनले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए, तर पार्टी पद्दति र सहमतिमा चल्नुपर्ने बताएर पार्टी संचालनप्रति केही असन्तुष्टि पनि पोखे । पार्टीभित्रको घातअन्तरघातको अन्य हुनुपर्ने उनले बताए ।

‘गत संविधान सभा चुनावमा हाम्रै कारण हाम्रो पार्टीको बहुमत आएन र अर्को पार्टीलाई प्रधानमन्त्री दिनु परेको छ ।’ उनले भने–‘अब चुनावमा पार्टीभित्र धोका हुनु हुँदैन ।’ पौडेलले मधेसी नेताले भनेजस्तो अवस्था मधेसमा नरहेको भन्दै मधेसी जनता र मधेसी नेताको बुझाईमा फरक रहेको बताए ।

अर्को प्रसंगमा उनले टीकापुर घटनामा संलग्न सबैलाई आममाफी दिइने बताए । थरुहट आन्दोलनका क्रममा गएको वर्ष भदौ ७ गते भएको घटनामा ८ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो र उक्त घटनामा १ सय २३ जना विरुद्ध मुद्धा चलिरहेको छ ।
‘टीकापुर घटनामा धेरै थारु समुदायका व्यक्ति डरले घर छाडेर भागेका छन् । डराउनु पर्दैन घर फर्कनोस् ।’ पौडेलले भने–‘राज्यले टीकापुर घटनामा सबैलाई माफी दिन्छ ।’

काँग्रेस महामन्त्री सशांक कोईरालाले चुनावमा पार्टीभित्र गुटबन्दी र अन्तरघात स्वीकार्य नहुने बताए । पार्टीभित्र हुँदै आएको गुटबन्धी र अन्तरघात अन्त्य हुनुपर्नेमा जोड दिंदै कोईरालाले भने–‘पार्टीभित्र अन्तरघात गर्ने, बागी उम्मेदवारलाई पार्टीबाट आजिवन निस्कासन गर्नुपर्छ । पार्टीभित्रै हराउने षड्यन्त्रमा कोही पनि लाग्नु हुँदैन ।’

आगामी प्रदेश र केन्द्र चुनावका लागि पनि अहिले हुने स्थानीय तहको निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले चुनावमा लाग्न उनले कार्यकर्तालाई आग्रह गरे ।
काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले स्थानीय तहको निर्वाचन गर्ने शर्तमा मात्रै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरिएको बताए । ‘निर्वाचनका लागि हामीले सरकारलाई समर्थन गरेका हौं । निर्वाचन गराउन सरकार तयार हुनुपर्छ ।’ सिटौलाले भने–‘निर्वाचन बाहेक सत्ताको स्वार्थ हामीमा छैन ।’

असन्तुष्ट पक्षलाई साथमा ल्याएर निर्वाचन गरिनुपर्ने उनको भनाई थियो । जनतालाई मताधिकारबाट वञ्चित गर्न नहुने र कुनै पनि हालतमा निर्वाचन सार्न नहुने सिटौलाले बताए । नेपाल आफैले संविधान ल्याएको र आफैले निर्वाचन गराउने उनले बताए ।
संविधान काँग्रेसकै नेतृत्वमा आएको र त्यसको कार्यान्वयन पनि काँग्रेसले नै गर्ने भन्दै सिटौलाले त्यसका लागि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन आग्रह गरे ।

एमालेका शीर्ष नेताहरुका अभिव्यक्ति आपत्तिजनक भएको सिटौलाले बतँए । उनले पहाड र तराईलाई एकअर्का विरुद्ध लडाउने काम नगर्न एमालेलाई आग्रह गरे ।

‘मधेसमा बस्नेको राष्ट्रियता कमजोर छ भनेर हिमाल, पहाडका मानिसलाई भनिदैछ ।’ सभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने–‘एमालेले जातीय, भौगोलिक र भाषिक द्वन्द्व सिर्जना गरेर देशलाई विखण्डनतिर लैजान खोजेको छ ।’
सभालाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी सावद, केन्द्रीय सदस्यहरु बीरबहादुर बलायर, बद्री पाण्डेय, रामकृष्ण यादव, वनराज्यमन्त्री दीर्घराज भाट, सचेतक इश्वरी न्यौपाने, सांसद प्यारेलाल राना, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सम्बोधन गरेका थिए ।

सभामा सहभागिताका लागि प्रदेश नम्बर सातका नौ वटै जिल्लाबाट काँग्रेस नेता, कार्यकर्ता अत्तरिया पुगेका थिए । कार्यकर्ता ओसार्नका लागि दर्जनौं बसहरु प्रयोग गरिएका थिए ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै काँग्रेसले सात वटै प्रदेशमा गर्न लागेको प्रदेशस्तरीय सभा सात नम्बर प्रदेश अन्तरगत अत्तरियाबाट शुरु गरिएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: