भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता

तीन लाखले मात्र भूकम्प प्रतिरोधी घर बन्न नसकिने भन्दै सर्वसाधारणको असन्तुष्टि

पर्वत, चैत २८ । करिब २ वर्षपछि पर्वतका भूकम्पपीडितसँग निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लागत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो ।

पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी गाउँपालिका अन्तर्गतको वडा नं ६ साबिकको तिलाहार गाविसबाट वितरण अभियान सुरु गरिएको छ ।

पर्वतमा भूकम्पबाट कुल १२ हजार एक सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लागत सङ्कलनमा समावेश भएका चार हजार तीन सय ७३ पीडित परिवारलाई वितरण कार्य थालिएको हो । यो जिल्लाका ३८ गाविस र एक नगरपालिकाको तथ्याङ्क हो । वाँकी साबिकका आठ गाविसको प्रमाणीकरण हुन बाँकी रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ चिकित्सक योगेन्द्र रिजालले पीडितलाई सम्झौता गराएर अभियानको सम्झौता सुरुवात गर्नुभएको हो । पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रजिअ डिल्लीराम शर्माले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लागत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागिपर्ने बताउनुभयो ।

सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको रु तीन लाख निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पु¥याउन माग गरेका थिए । उनीहरुले रु तीन लाखले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् ।

वैशाख १२ को भूकम्पबाट पर्वतका साबिकका ३५ गाविस बढी मात्रामा प्रभावित बनेका थिए ।

कमेन्ट गर्नुहोस्