कोरियामा नेपाली कामदारको मृत्यु

काठमाडौ, चैत्र २८ । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएका एक नेपाली कामदार सोमबार बिहान सुतेकै अवस्थामा अचानक मृत्यु भएको नेपाली राजदूताबासले जनाएको छ ।

झल्ला नाम्दो ह्वासुनस्थित एक फलाम सम्बन्धी कम्पनीमा काम गर्दै आएका सुनसरीका चुडाराज आलेको निधन भएको श्रम सहचारी देवराज ढकालले जानकारी दिए ।

सन् २०१५ मा कोरिया आएका २४ बर्षीय आले विहान ढिलासम्म नउठेपछि कम्पनीका मानिस बोलाउन जाँदा मृत भेटिएको थियो ।

हाल उनको शव कोरियन प्रहरीले अस्पतालमा पुर्याएको छ । सो कम्पनीमा काम गर्ने २ जना नेपाली मध्ये एक जना नेपाल गएकाले मृतक आले एक्लै रहेका थिए ।

कोरियाममा एक जना नेपाली युवा कामदारको सुतेकै आवस्थामा मृत्यु भएको दुई साता नपुग्दै पुन त्यस्तै घटना दोहोरिएको छ ।

गत वर्ष पनि यही मौसममा २ जना कामदारको सुतेकै अवस्थामा मृत्यु भएको स्मरण गर्दै विशेषज्ञको टोली बनाइ यस्तो घट्नाको  कारण पत्ता लगाउन आवश्यक रहेको श्रम सहचारी ढकालले बताए ।

कमेन्ट गर्नुहोस्