शहरभन्दा गाउँमा बढी चुनावी माहौल बन्दै

निर्वाचन अधिकृतहरुलाई चुनावी व्यवस्थापन गर्ने तालिम आजदेखि सुरु

काठमाडौं, चैत्र २८ । मकवानपुर जिल्लाको शहरमा भन्दा पनि ग्रामीण भेगतिर बढी नै चुनावी माहौल बढेको छ ।

स्थानीय तहको निर्वाचनको लागि ठूला दलहरुले अहिलेसम्म पनि कुनै उम्मेदवार तोक्न नसकेको भएपनि वडा र टोलटोलमा पुगेर प्रचारप्रसार गठन गरेका छन्। बिहानैदेखि बेलुकासम्म राजनीतिक दलका अधिकांश अगुवा कार्यकर्ताहरुको जनमत आफ्नो पक्षमा पार्नका लागि प्रचारप्रसारको निम्ति जुटिरहेका छन्।

चुनावका लागि उम्मेदवारको छनौट गर्न ठूला दलहरुलाई सकस भएको छ ।

यही आगामी वैशाख ७ गतेभित्र नेपाली कांग्रेसले नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाका उम्मेद्वार घोषणा गरिसक्ने जनाएको छ ।

नेपाली काग्रेसका पुर्व सभापति एवं पार्टीका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालले गाउँपालिका र क्षेत्रीय समितिले उम्मेद्वार टुंग्याउन सकेन भने जिल्ला कमिटीले वैशाख ७ गतेसम्म टुंग्याउने बताए ।

नेपाली कांग्रेसले हेटौडा उपमहानगरपालिकाको १ र ५ नम्वर वडाको वडाध्यक्षमा उम्मेद्वार घोषणा गरिसकेको छ । नगर प्रमुख र उप नगर प्रमुखको उम्मद्वार भने टुंग्याउन सकेको छैन ।

पार्टीका पुर्व उपसभापति अशोक शाक्य र नगर सभापति आनन्द पराजुलीले नगर प्रमुखको पदमा दावी गर्दै आएका छन् । शाक्य शेरवहादुर देउवा निकट छन् भने पराजुली रामचन्द्र पौडेलले निकट छन् ।

शाक्यलाई पुर्व सभापति माइकल रामचन्द्र अर्यालले समर्थन गर्दै आएका छन् भने पराजुलीलाई पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको समर्थन रहेको छ । पार्टी सभापति एवं गृह राज्यमन्त्री ईन्द्रवहादुर बानियाँले जसलाई समर्थन गर्‍यो उसैले टिकट पाउने अवस्था रहेको छ ।

नेपाली कांग्रेसको मात्र होइन एमालेलाई पनि उम्मद्वार टुंग्याउन सकस भएको छ । वडादेखि मेयर–उपमेयरका आंकाक्षीहरु धेरै छन् । २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा वहुमत हासिल गरेको एमालेलाई स्थानीय तहमा वर्चस्व कायम राख्नको निम्ति उम्मेदवार छनोट गर्न हम्मे परेको छ ।

आगामी वैशाख ७ गतेसम्म सबै तहको उम्मेद्वारको छनौट भइसक्ने पार्टीका उपाध्यक्ष बद्री लम्सालले बताउनुभयो ।

८३ हजार ९ सय ५१ मतदाता रहेको हेटौडा उपमहानगरपालिकामा नगर प्रमुखका लागि दुई महिला र एक पुरुषले दावी गर्दै आएका छन् । पार्टी अध्यक्ष मुनु सिग्देल, पुर्व उप नगर प्रमुख हरीवहादुर महत र अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव विष्णु ओझाले दाबी गरेका छन् ।

उपमहानगपालिकाको नगर प्रमुख र उपनगर प्रमुखको निम्ति एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गर्नुपर्ने भएकाले सिग्देल, महत र ओझाको नाम सिफारिस हुने देखिन्छ । राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको गृह नगर हेटौडा उपमहानगरपालिकामा राप्रपाले एमाले र कंग्रेसको उम्मेद्वारहरु घोषणा गरेपछिमात्र आफ्नो उम्मेद्वारहरु घोषणा गर्ने रणनीति अख्तियार गरेको छ ।

माओवादी केन्द्रले हेटौडा उपमहानगरपालिकाको नगर प्रमुखमा बलराम बल र उप नगर प्रमुखमा कमला पौडेललाई उम्मेद्वारी दिइसकेको छ ।

२ सय ६२ वर्ग किलोमिटरमा फैलिएको हेटौडा उपमहानगरपालिकाका १९ वडा विभाजित छ । २०२६ सालमा नगरपालिका घोषणा भएको यो हेटौंडा, तीन नम्वर प्रदेशको एकमात्र उपमहानगरपालिका हो ।

स्थानीय तहको निर्वाचनको लागि निर्वाचन अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन तथा सञ्चालन तालिम हेटौडामा आजदेखि सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: