दुर्इ वर्ष बित्न लाग्दा पनि पीडितले किस्ता पाएनन्

काठमाडौँ, चैत २८ । गतवर्ष भूकम्प गएकाे दुर्इ वर्ष बितिसक्दा पनि शङ्खरापुर नगरपालिकाको दुईवटा वडाका स्थानीयवासीले घर पुनःनिर्माणका लागि पहिलो किस्ता पाउन सकेका छैनन् ।

नगरपालिकाको साविक वडा नं ९ र १० हालको वडा नं ७ का पीडितले पहिलो किस्ताको रु ५० हजार पाउन नसकेको स्थानीय नरबहादुर कार्कीले गुनासो गर्नुभयो । अरु वडाका पीडितले पहिलो किस्ता पाएर घर पुनःनिर्माण सुरु गरे पनि यो वडाका स्थानीयवासी यस वर्षको वर्षात्मा पनि टहरामै बस्नुपर्ने चिन्तामा छन् ।

लाभग्राही सूचीमा नाम ननिस्कने पीडितले गुनासो दर्ता गराएकाले एकैपटक राहत दिने गरी पहिलो किस्ता नबाँडेको स्थानीय कुबेरबज्र बज्राचार्यको अनुमान छ । नाम निस्केका लाभग्राहीलाई पहिलो किस्ता दिए घर बनाउन सुरु गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

नगरपालिकामा भूकम्पपछिको पुनःनिर्माणको समन्वय गरिरहनुभएका इन्जिनियर मिलन फुयाँल शङ्खरापुर नगरपालिकाका दुई वडा, गोकर्णेश्वर नगरपालिका–१३ र महानगरपालिकाका केही वडाका पीडितको सूची जिल्ला समन्वय समितिको लेखा शाखामा छुटेकाले पहिलो किस्ता आउन ढिला भएको सूचना पाएको बताउनुहुन्छ ।

जिल्ला समन्वय समिति काठमाडौँका सूचना अधिकृत प्रविन प्याकुरेल कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रणालीका कारण शङ्खरापुर र गोकर्णेश्वर नगरपालिकाका केही वडा र महानगरपालिकाका केही लाभग्राहीलाई पहिलो किस्ताको चेक पठाउन ढिला भएको स्वीकार्नु हुन्छ ।

केन्द्रीय तथ्याङ्क विभागले सर्वेक्षण गरी पठाएका लाभग्राहीमध्ये राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँमा ४२ हजार ५०० लाभग्राहीको सूची पारित गरेको थियो । त्यसमध्ये ३६ हजार लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेकामध्ये ३४ हजारको खातामा पहिलो किस्ताको रु ५० हजार पठाइएको समन्वय समिति काठामाडौँले जनाएको छ ।

कमेन्ट गर्नुहोस्