एमाले सांसदहरुले गृहमन्त्री निधीको राजीनामा मागेपछि…

काठमाडौं, चैत २८ । एमाले लगायतका केही दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको राजिनामा माग गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा बिशेष समय लिएर बोल्दै अधिकांस सांसदहरुले मन्त्री निधिले दोस्रो वरियता नपाए मन्त्रीपरिषद् बैठकमै नजाने घोषणा गर्नु प्रधानमन्त्रीय प्रणाली विपरित भएको भन्दै उनीहरुले राजिनामा माग गरेका हुन् ।

बैठकमा बोल्दै एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री निधीको कार्यशैली राम्रो नभएको बताए । उनले मन्त्रीलाई नालायक भएको आरोप लगाउँदै सरकारमा नबस्न चुनौति दिए ।

प्रहरी प्रमुख आइजीपी नियुक्त गर्न नसक्ने सरकारले चुनावमा सुरक्षा व्यवस्था दुरुस्त राख्छ भन्नेमा शंका लागेको प्रतिक्रिया दिए ।

अर्का सांसद सत्यनारायण मण्डलले सप्तरीस्थित आफ्नो घरमा संघीय समाजवादी फोरमका कार्यकर्ताले परिवारका सदस्यलाई र्दुव्यवहार गरेपनि स्थानीय प्रशासन मौन बसेको भन्दै आपत्ति जनाए । मण्डलले एमाले सप्तरी ईञ्चार्ज सुमन प्याकुरेलको घरमा रहेका परिवारका सदस्यमाथि मोर्चा कार्यकर्ताले दुव्यबहार गरेको जानकारी दिए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उपप्रधानन्त्रीबीचको मर्यादा विवादका कारण मन्त्रिपरिषद्को बैठक बस्न नसक्नु दुखद भएको भन्दै यसले जनतामा राम्रो सन्देश नजाने बताए ।

एमालेका केशवप्रसाद बडाल, हर्कबोल राई, माओवादी केन्द्रका जनकराज जोशी, श्यामकुमार श्रेष्ठ, राप्रपाका कान्ता भट्टराई, नेमकिपाका प्रेम सुवाल लगायतले स्थानीय तह निर्वाचन, सहकारी ऐन, राष्ट्रिय पुनर्निर्माण लगायत बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच मधेसी मोर्चा आवद्ध दलले संविधान संशोधन विधेयक पारितको माग गर्दै आजको संसद बैठक समेत बहिस्कार गरेका छन् । बैठककको सुरुमै समय लिएर बोल्दै थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । बैठकमा आज कानून मन्त्री अजयशंकर नायकले सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगको वार्षिक प्रतिवेदन गर्नुभयो । संसद्को अर्को बैठक भोली एक बजे बस्नेछ ।

कमेन्ट गर्नुहोस्