एमाले अध्यक्ष ओलीलाई सभापति देउवाको तिखो तिर

तुलसिपुर, चैत २८ । दाङको तुलसिपुरमा नेपाली कांग्रेसको दोस्रो चुनावी सभामा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दल एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

प्रदेश नम्बर ५ अन्तर्गत तुलसिपुरमा कांग्रेसले आयोजना गरेको शक्ति प्रर्दशन सभामा सभापति देउवाले एमालेले संविधान कार्यान्वयन नचाहेको आरोप लगाएका छन् ।

मधेसी मोर्चाको विरोधका बाबजुद पनि एमालेले मेची महाकाली अभियान चलाएर मधेसमा वितण्डा मच्चाएको उनले आरोप लगाएका छन् । सभापति देउवाले भने, ‘मधेसको सन्दर्भमा एमाले जसरी प्रस्तुत भएको छ, त्यो गलत छ, एउटा शक्तिलाई वाइपास गरेर चुनावमा जाँदा पछि द्वन्द्व निम्तिने खतरा हुन्छ । त्यसैले मधेसलाई पनि सँगै लिएर चुनावमा जाने हो ।’

सभापति देउवाले नेपाली कांग्रेसका विषयमा नानाथरी भ्रम फैलाएर एमालेले राष्ट्रलाई निकास दिने भन्दा पनि वितण्डा मच्चाउने काम गरेको आरोप लगाए ।

उनले एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको त हैन भन्ने प्रश्न गरे । कांग्रेस सभापति देउवाले भने,‘ एमालेका गतिविधि हेर्दा हामीलाई शंका लाग्न थालेको छ, ओलीजीका उखान टुक्का सुन्दा संविधानलाई कार्यान्वयन गर्न नदिएर असफल बनाउन खोजेको महशुस भइरहेको छ ।’

सभापति देउवाले आेलीका उखान टुक्काले देश नचल्ने भन्दै ‘उखान टुक्काले नै देश चल्ने भए त ओलीलाई भन्दा कलाकारलाई नै त्यसको भार सुम्पे भो नि !’

कांग्रेस सभापति देउवाले दलहरुको एकताले नै समृद्धि र विकास सम्भव हुने भन्दै स्थानीय तहको निर्वाचनमा जनताले कांग्रेसलाई भारी मतले विजय गराउने विश्वास पनि ब्यक्त गरे ।

सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा चुनावमा आउने विश्वास ब्यक्त गर्दै एमालेलाई संविधान असफल बनाउने खेलमा नलाग्न आग्रह गरेका छन् ।

महामन्त्री शशांक कोइरालाले स्थानिय तह अधिकार सम्पन्न रहेको भन्दै सक्षम र सवल ब्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्ने बताए ।

कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको आमसभालाई पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सिचाइमन्त्री दिपक गिरी लगायतले सम्बोधन गरे ।

कार्यक्रममा सहभागी हुन प्रदेश नम्बर ५ का १० वटा जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता दाङको तुलसिपुरमा भेला भएका थिए ।

कमेन्ट गर्नुहोस्