सरकारद्वारा डिआइजी अर्याललाई महानिरिक्षकमा नियुक्त,आजै पदबहाली

कार्यसम्पादन मूल्यांकनमा अर्याल एक नम्बरमा

काठमाडौं, चैत २८ । सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले आईजीपीका दाबेदारहरुको कार्यसम्पादनको आधारमा पहिलो नम्बरमा रहेका अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले फागुन १ गते आइजिपीमा बढुवा गरेका डिआइजी जयबहादुर चन्दको बढुवालाई सर्वोच्च अदालतले बदर गरेपछि सरकारले नयाँ आइजिपी नियुक्त गर्न चारजना डिआइजीको कार्यसम्पादन मूल्यांकन गरेर नम्बर पेश गर्न समिति गठन गरेको थियो । गृह, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालय सचिव र निमित्त प्रहरी प्रमुख रहेको समितिले पेश गरेको कार्यसम्पादनको नम्बरका आधारमा अर्यालको आइजिपीमा बढुवा भएको हो ।

कार्यसम्पादनमा अर्यालको १५४ अंक पाइएको छ । अर्का दावेदार नवराज सिलवालको १५२.४ मात्र अंक छ भने डीआईजी बमबहादुर भण्डारीको १५०.२ र जयबहादुर चन्दको १४७ अंक रहेको सरकारले बताएको छ ।

८ चैतमा सर्वोच्चले आइजिपी नियुक्तिमा कार्यसम्पादन मुल्याकंनकै ख्याल नगरी मन्त्रीपरिषद्ले गरेको नियुक्ती विधीसम्म नभएको ठहर गर्दै कार्यसम्पादनका आधारमा आइजिपी नियुक्त गर्न आदेश दिएको थियो ।

त्यसपछि सरकारले प्रहरी नियमावली संशोधन गरेर निमित्त प्रहरी प्रमुखको जिम्मेवारी प्राविधिक तहका एआईजी दिनेशचन्द्र पोख्रेललाई दिएको थियो ।

नवनियुक्त महानिरिक्षक अर्याललाई आजै फूली लगाउने भएका छन् । गृह मन्त्रालयले गृहका उच्च अधिकारी लगायत नेपाल प्रहरीका उच्च अधिकारी, सशस्त्र प्रहरीका उच्च अधिकारी र राष्ट्रिय अनुसन्धानका उच्च अधिकारीलाई मन्त्रालय बोलाएर उनलाई फुली लगाएको छ ।

महानिरिक्षकको नियुक्ती पाएका ५३ वर्षे अर्याल दाङ त्रिभुवन नगरपालिका वडा नम्बर ११ मा जन्मेका हुन् । २०६९ पुष ४ मा डिआईजीमा बढुवा भएका अर्यालले पछिल्लो समय महानगरिय ट्राफिक प्रहरी महाशाखाको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय उनले अपराध अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

कमेन्ट गर्नुहोस्