डिपिएलमा सिवाईसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सको विजयी सुरुवात

कैलाली, चैत २९ । सगमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा सिवाइसी अत्तरिया र रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेका छन् । सोमबार भएको खेलमा सिवाइसीले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको हो ।

यस्तै, अर्को खेलमा रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई १४ रनले पाखा लगाएको छ । एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । सिवाइसीका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिनुभयो ।

काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सक्नु भएन । पहिले ब्याटिङ गरेको सिवाइसीले ६ विकेटको क्षतिमा एक सय ४६ रन बनायो । उसका लागि योगेन्द्र सिंह कार्कीले ५७, ज्ञानेन्द्र कुँवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाउनुभयो ।

काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । सिवाइसी ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । सोमबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । रुपन्देहीको जितमा हरिश साहले ३३ र प्रकाश केसीले २६ रन बनाउनुभयो ।

निर्धारित २० ओभरमा आठ विकेट गुमाएर रुपन्देहीले १४५ रन जोड्दा शङ्कर रानाको ब्याटबाट १९, कप्तान शक्ति गौचनको ब्याटबाट १६ रन बनेको थियो । विक्रम सोबले नटआउट १५ रनको पारी खेल्नुभयो । कञ्चनपुर आइकोनिकका कुशल भुर्तेलले चार र अविनाश कर्णले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङ्गमा उत्रेको कञ्चनपुरले निर्धारित ओभर खेल्दै नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

कञ्चनपुरका लागि सागर पुनले सर्वाधिक ३९, सुनिल धमलाले २८, कुसल भुर्तेलले २७ र अविनाश कर्णले अविजित १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बटुल्न सकेनन् । कञ्चनपुरलाई रोक्ने क्रममा रुपन्देहीका कृष्ण कार्की र साहब आलमले समान तीन÷तीन विकेट लिए पनि कार्की म्यान अफ द म्याच भए । कप्तान शक्ति गौचनको भागमा दुई विकेट परेको थियो । प्रतियोगिता अन्तर्गत आज राटनगर किङ्स र धनगढी टिम चौराहाबीच पहिलो तथा काठमाण्डौं गोल्डेन्स र कञ्चनपुर आइकोनिकबीच दोस्रो खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले सात लाख रुपिया पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: