विप्लव पार्टीलाई ललितपुरमा झड्का, नेवा अध्यक्षसहित डेढसय माओवादी केन्द्रमा प्रवेश

ललितपुर, चैत २९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरमा ठूलो पहिरो गएको छ ।
विप्लव पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रहेका सुविन्द्र महर्जन र केशव देशार सहित एकसय पचास जना भन्दा बढीले विप्लवको पार्टी राजनीतिक कार्यदिशामा अस्पष्ट रहेको भन्दै पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

विप्लव नेतृत्वको पार्टी गठन भएदेखिसँगै रहेका महर्जन र देशार जिल्लामा खासगरी नेवार समुदायमा लोकप्रिय मानिएका छन् । महर्जनले गोदावरी नगरपालिकामा रहेका सबै वडाबाट सत्तरी जना लिएर माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरुसबैलाई उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक कार्यक्रमबीच पार्टी प्रवेश गराए ।

पार्टीका सविन्द्र महर्जनले विप्लवको पार्टीले लिएको कार्यदिशाप्रति असन्तुष्ट रहेको कारण पार्टी छोडेको प्रतिक्रिया दिए । उनले भने–न पार्टीको दीर्घकालीन राजनीतिक एजेण्डा छ, न त नेताको कार्यशैली नै प्रष्ट छ’ पार्टी छोड्नुको कारणबारे उनले भने–‘पार्टीभित्र व्यक्तिगत र आर्थिक अराजकता बढ्दै गएपछि पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हौं ।’

माओवादी केन्द्रको गोदावरी नगरपालिका सम्मेलनमा महर्जनसहित सत्तरी जना प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

 आरोपको खण्डन

विप्लव पार्टी गठनभएदेखि नेवा मुक्ति मोर्चा लालितपुरका अध्यक्ष रहेका महर्जनलाई आर्थिक हिनामिना गरेको आरोपको उनले खण्डन गरेका छन् । एभरेष्टदैनिक डटकमसँग उनले भने आजसम्म मैले विप्लव पार्टीमा लागेर एक रुपैयाँ हिनामिना गरेको छैन, त्यो आरोप मेरो समाजसेवी छवि विगार्न, पद घटुवा गर्न गरिएको सुनियोजित कु– प्रचार हो यसमा कुनै सत्यता छैन ।’

महर्जन र देशारमाथि आर्थिक र सांगठनिक अनिमितता गरेको आरोपमा कारवाही गर्ने तयारी भएपछि पार्टी छोडेको भनेर गरिएको प्रचार झुठो र कपोलकल्पित भएको उनीहरुले स्पष्ट पारेका छन् ।


आफ्नो लोकप्रिय छवि देखेर पार्टीका केही व्यक्तिहरुले लान्छना लगाएकोप्रति उनले खेद प्रकट गरे । भने– ‘मलाई विप्लव मनपर्ने नेता हुन्, तर उनको पार्टीले लिएको बैचारिक लाइनप्रति मेरो सुरुदेखि असहमति थियो जुन कुरा मैले पटक पटक बैठकमा राखेको थिएँ ।’

विप्लव पार्टी ललितपुरका सेक्रेटरीले लगाएको गम्भीर आरोप पुष्टि गर्न उनले चुनौति दिएका छन् । बाहिर आरोप लगाएर प्रचारबाजी गरिएको जस्तो सजिलो हुँदैन, फागुन १३ गते राजिनामा बुझाएको मलाई कसले कारवाही गरेको हो जानकारी छैन,’ महर्जनले भने ।

उनले आफ्नो राजनीतिक इमान्दारिताप्रति फाइदा लिन नसकेका व्यक्तिहरुले जनतामा भ्रम सिर्जन ागर्न झुठो आरोप लगाइएको उनले आरोप लगाए ।

कमेन्ट गर्नुहोस्