अर्याललाई आइजिपी बनाएपछि सिलवालले फेरि हाले सर्वोच्चमा रिट

काठमाडौं, चैत २९ । कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै प्रहरी नायव महानिरीक्षक (डिआईजी) नवराज सिलवालले सर्वोच्चमा रिट दर्ता गराएका छन् ।

मंगलबार विहान सर्वोच्च पुगेर सिलवालले दोस्रो रिट दर्ता गरेका हुन् । सरकारले सोमबार साँझ डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरिक्षक (आइजीपी)मा निुक्त गरेपछि उनी फेरि अदालत पुगेका हुन् ।

रिटमा उनले आईजीपीमा प्रकाश अर्याललाई गरेको नियुक्ति बदर र यसअघि सर्वोच्च अदालतले गरेको निर्णय कार्यान्वयनको माग राखेका छन् ।

डिआईजी सिलवालले कार्यसम्पादन मूल्याङकन फाइलको आफ्नो दुई नम्बर घटाइएर पछि पारेको दाबी गरेका छन् ।

यसअघि सरकारले गत फागुन १ मा डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गरेको थियो तर, सरकारको उक्त निर्णय विरुद्ध सिलवाल सर्वोच्च पुगेका थिए । सिलवालको उक्त रिटको फैसला गर्दै सर्वोच्चले कार्यसम्पादन मूल्यांकन ख्याल नगरी मन्त्रिपरिषद्ले महानिरीक्षक नियुक्ति गर्नु विधिसम्मत नभएको भन्दै कार्यसम्पादनका आधारमा पुन नियुक्ति गर्न चैत ८ गते आदेश दिएको थियो ।

त्यतिबेला चन्दलाई वरीयता क्रम मिचेर नियुक्ति दिइएको भन्दै डिआईजी सिलवालले नै सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।

साथै अधिवक्ता कपिलदेव ढकाल पनि अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ताका लागि सर्वोच्च अदालत पुगेका छन् ।

कमेन्ट गर्नुहोस्