डिपिएलले धनगढीमा आर्थिक गतिविधि बढायो

कैलाली, चैत ३० । प्रदेश नम्बर ७ को प्रमुख सहर धनगढीमा रहेको ठूला तथा साना होटलमा भीडभाड बढेको छ । यहाँ रहेका तीन तारेदेखि मध्यमखाले प्रायः सबै होटलहरु आन्तरिक पाहुनाले खचाखच भरिएका छन् ।

धनगढीमा जारी धनगढी क्रिकेट लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका कारण होटलहरुमा भीडभाड बढेको हो । प्रायः होटलहरुमा खेलाडी, अफिसियल तथा मुलुकका विभिन्न ठाउँबाट क्रिकेट खेल हेर्न आएका पाहुनाहरु बसेका छन् ।

खेलका कारण धनगढीमा चहलपहल बढेसंगै होटलहरु आन्तरिक पाहुनाहरुले खचाखच भरिएको कैलाली जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष महेश शाहले जानकारी दिनुभयो । धनगढीमा सात वटा ठूला सहित मध्यम खाले धेरै होटल छन् ।

प्रायः सबै होटलमा पाहुना भरिएकाले अहिले कोठा पाउन गाह्रो समेत भएको छ । होटलहरुमा भीडभाड बढेकाले कोठा पाउनै मुस्किल भएको सौरभ ओझाले जानकारी दिनुभयो । उहाँले काठमाण्डौंबाट आएका पाहुनाहरुका लागि होटलमा कोठा पाउन पाउन हम्मे भएको बताउनुभयो । होटलमा कोठा नपाएपछि बाह्य जिल्लाबाट आएका कतिपय आगन्तुक धनगढीका आफ्ना इष्टमित्रहरुको घरमा बसेका छन् ।

क्रिकेट प्रतियोगिताका कारण होटल व्यवसायीहरु उत्साहित भएका छन् । पर्यटन सिजनकै बेला पनि प्रायः सुनसान रहने यहाँका होटलहरुमा खचाखच पाहुना भरिएपछि खुशी लागेको उनीहरुले बताएका छन् । होटल साथीका सञ्चालक सञ्जय चौधरीले क्रिकेट खेलले यहाँका होटल व्यवसायीहरुलाई उत्साहित बनाएको बताउनुभयो । उहाँले क्रिकेटको सहर धनगढीमा खेल पर्यटन फष्टाउन थालेको टिप्पणी गर्नुभयो ।

होटल रुबसका सञ्चालक प्रकाश भट्टले प्रदेश नम्बर ७ मा खेल पर्यटनको राम्रो सम्भावना रहेको उल्लेख गर्दै खेल खेल्न आउने खेलाडीहरुले यहाँको विभिन्न क्षेत्रमा अवलोकन, भ्रमण गरे सबै क्षेत्रलाई आर्थिक लाभ हुने बताउनुभयो । चैत २७ गतेबाट सुरु भएको धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

यो समयावधिमा यहाँको व्यापार व्यवसाय चलायमान रहने प्रतियोगिता आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताउनुभयो । उहाँले खेल मार्फत पर्यटन प्रबद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । होटल व्यवसायको साथै बजारमा पनि आर्थिक गतिविधि बढेको बताइएको छ । मुलुकमै सर्वाधिक बढी पुरस्कारराशी रहेको यो प्रतियोगिता हेर्नका लागि देशका ठूला सहरहरुबाट क्रिकेट प्रेमी, प्रायोजक, टिमका मालिक आएका छन् । यहाँ रहेको ठूला होटलहरु द डिभोटी होटल, रुबस, फ्लोरा, जलशा, साथी, दिनेश कटेज लगायत प्रायः सबै होटलहरुमा पाहुनाहरुको भीडभाड रहेको छ ।

कमेन्ट गर्नुहोस्