राष्ट्रपति भण्डारी वैशाख ४ देखि भारतको राजकीय भ्रमणमा

काठमाडौं, चैत ३० । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भारतको राजकीय भ्रमणमा जाने निश्चित भएको छ ।

नेपाल र भारतले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणको औपचारिक घोषणा गरेका हुन् । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको औपचारिक निमन्त्रणमा भण्डारीले वैशाख ४ गतेदेखि ८ गतेसम्म पाँच दिन भारत भ्रमण गर्ने मिति सार्वजनिक भएको हो ।

भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

त्यसैगरी भण्डारीले वैशाख ५ मा राष्ट्रपति भवनमा आयोजित रिसेप्सनमा सहभागी हुने तथा ‘गार्ड अफ अनर’ लिने कार्यक्रम रहेको छ ।

भण्डारीको सम्मानमा भारतीय राष्ट्रपतिले दिवाभोजको कार्यक्रम आयोजना गर्नेछन् । राष्ट्रपति भण्डारीले गुजरात र ओडिसाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भण्डारीको भ्रमणको क्रममा कुनै सन्धि तथा सम्झौता हुने, नहुनेबारे भने केही बताइएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: