दुर्घटनामा दुईको मृत्यु एक दर्जन घाइते

धुलिखेल, चैत ३० । काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ भीमखोरीको पिप्लेमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य १० जना जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुङ्गाका २२ वर्षीय मीनबहादुर पौडेल र पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय मदन बुढाथोकी रहेको प्रहरीले बताएको छ ।

पौडेलको घटनास्थलमै र घाइते बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

बनेपाबाट सिन्धुलीतर्फ गइरहेको बा४५प ६७५३ नं मोटरसाइकलले सोही दिशातर्फ गइरहेको ना१ज ४६९५ नं सुमोलाई उछिन्न खोज्दा दिक्तेलबाट काठमाडौँतर्फ आइरहेको बा४ख ६०३ नंको यात्रुबाहक बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनापछि बस चालक सिन्धुली पकुरठाकुर–८ निवासी ३२ वर्षीय टोपबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त घटनामा परी घाइते भएका १० जनाको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: