यो वर्ष पनि सुदूरपश्चिममा समयमै पाठ्य पुस्तक नपुग्ने संकेत

धनगढी, चैत ३१ । विगतका वर्षहरुमा झै यस वर्ष पनि सुदूरपश्चिमका सबै विद्यार्थीहरुका हातमा शैक्षिक सत्रको शुरुमै पाठ्यपुस्तक पुर्याउन नसकिने देखिएको छ । हालसम्म यहाँ आईपुगेका पाठ्युस्तक र वितरणको अवस्था हेर्दा सामुदायिक विद्यालयहरुमा अध्ययनरत सबै विद्यार्थीका लागि समयमै पाठ्यपुस्तक पुर्याउन नसकिने देखिन्छ । यद्यपि गत वर्ष यही अवधिको तुलनामा अहिले बढि पुस्तक आइपुगेको पाठ्यपुस्तकको संख्या बढी छ । यस क्षेत्रका लागि आवश्यक पर्ने पुरै पाठ्यपुस्तक आईनसकेकाले शैक्षिक सत्रको पहिलो सातामै सबै विद्यार्थीलाई सबै विषयका पाठ्यपुस्तक पुर्याउन कठिन हुने जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा यो शैक्षिक सत्रमा कक्षा ६ देखि १० सम्मका २२ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान जनक शिक्षाले गरेको छ । हालसम्म साढे १५ लाख थान किताब जनक शिक्षाको क्षेत्रीय कार्यालय धनगढीमा आईपुगेका छन् । तीमध्ये साढे चार लाख थान बिक्री गरिएको छ । विद्यार्थीले समयमै पाठ्यपुस्तक उपलब्ध गराउने चाहना रहे पनि केन्द्रबाट आवश्यक संख्यामा पाठ्यपुस्तक आइनसकेकाले केही समय ढिला हुने जनक शिक्षा सामाग्री केन्द्रका सुदूरपश्चिम क्षेत्रीय प्रमुख योगेन्द्र भट्टले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरण गर्दै आएको सरकारी संस्थान जनक शिक्षामा अहिले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्ने काम भईरहेकाले पनि थप किताब आपूर्ति हुन केही समय लाग्ने बताइएको छ । आपूर्तिमा हुने ढिलाईले विद्यार्थीले पाठ्यपुस्तक विनै कक्षामा बस्नुपर्ने अवस्था रहदै आएको छ । गत वर्ष असारसम्म पनि विद्यार्थीहरुले कतिपय पाठ्यपुस्तक पाएका थिएनन् । ७० प्रतिशत भन्दा बढी पाठ्यपुस्तक आईसकेका र नियमित आपूर्ति भए बैशाख महिनाभित्रै सबै विद्यार्थीकहाँ किताब पुग्ने क्षेत्रिय प्रमुख भट्टको भनाइ छ । आइपुगेका साढे १५ लाख थान पाठ्यपुस्तक चैत मसान्तभित्रै बिक्री गरिसक्ने क्षेत्रीय प्रमुख भट्टले बताउनुभयो ।

केन्द्रले भनेअनुसार पाठ्यपुस्तक आए कक्षा ८, ९ र १० का पाठ्यपुस्तक बैशाख १०–१२ गतेभित्रै सबै विद्यार्थीका हातमा पु¥याइने जनाइएको छ । कक्षागत सेटहरु पुरै नआएकाले पनि कुनै पाठ्यपुस्तकको अभाव बढी देखिएको जनक शिक्षाले जनाएको छ । यस क्षेत्रमा साढे २२ लाख थान आवश्यक पर्ने अनुमान गरिए पनि तत्कालका लागि २० लाख थान नभई नहुने जनाइएको छ । गत वर्ष कक्षा ६ देखि १० सम्म यस क्षेत्रमा २० लाख थान पाठ्यपुस्तक खपत भएकोमा यस वर्ष २२ लाख थान आवश्यक पर्ने अनुमान जनक शिक्षाको छ । जनक शिक्षाको क्षेत्रीय कार्यालय धनगढीले चैत २२ गतेबाट बिक्रेतालाई पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । वितरणलाई व्यवस्थित गर्न प्रत्येक जिल्लालाई पालैपालो किताब उपलब्ध गराईरहेको सो कार्यालयले जनाएको छ ।

जनक शिक्षाले सम्बन्धित जिल्ला शिक्षा कार्यालयलगायत विभिन्न तथ्यांकका आधारमा अनुमानित आवश्यक पाठ्यपुस्तक संख्या निर्धारण गर्छ । सबै भन्दा बढी कैलाली, कञ्चनपुरमा पाठ्यपुस्तक आवश्यक पर्ने जनक शिक्षाको क्षेत्रीय कार्यालयले जनाएको छ । समयमै पाठ्यपुस्तक नपाउँदा पठनपाठन प्रभावित हुने भएकाले यसको असर शैक्षिक गुणस्तरमा पनि पर्ने कतिपयको भनाई छ । पाठ्यपुस्तक छपाईमा हुने ढिलाईले हरेक वर्ष विद्यार्थीहरुले शैक्षिक सत्र शुरु भएको निकै पछिमात्र कतिपय पाठ्यपुस्तक पाउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: