निर्वाचन आयुक्त यादवले भने–दुई चरणमा चुनाव गराउन आयोग तयार

मोरङ, चैत ३१ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दुईचरणमा चुनाव गराउन तयार रहेको बताएका छन् । विराटनगरमा बिहीबार पत्रकारसँग कुरा गर्दै प्रमुख यादवले सरकारले राष्ट्रिय राजनीतिक निकासका लागि दुई चरणमा चुनाव गराउने तयारी गरेपछि आयोगले सरकारको योजनालाई पूरा गर्ने बताएका हुन् ।

उनले भने–‘बैशाख ३१ गतेका लागि आयोगले मतपत्र, मतदाता नामावली, परिचय पत्रलगायतको निर्वाचन सामग्री तयार गरीसकेको हुँदा दुई चरणमा निर्वाचन गराउन आयोगलाई कठिन त पर्छ तर, राजनीतिक निकासका लागि हामी तयार छौं ।’
मधेसी मोर्चाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेपछि निर्वाचनमा सुरक्षा चुनौती बढेकोमा उनले निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउन आग्रह गरे ।

भयरहित शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको सहभागिता हुनुपर्नेमा प्रमुख आयुक्त यादवले जोड दिए । ‘भयरहित शान्तिपूर्ण निर्वाचन माहोल सरकारले बनाउनु पर्छ, उनले भने, ‘निर्वाचन अधिकृत, मतदान अधिकृतलगायतका कर्मचारीलाई निर्वाचन गराउन सरल, सहज रुपमा निर्वाचनमा खटिने वातावरण बनाउनु सरकारको दायित्व हो ।’

दुई नम्बर प्रदेशमा मतदान गर्न जनता उत्साहित रहेको भए पनि मधेसी मोर्चाको बहिष्कारका कारण समस्या हुनसक्ने बताए । उनले भने– ‘दुई नम्बर प्रदेशमा जनता मतदान गर्न आतुर भए पनि राजनीतिक दलको निर्वाचन बहिष्कार गर्ने घोषणाले उनीहरुमाझ द्विविधा बढ्ने जोखिम छ ।’

निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । उनले मतदान अधिकृतको कार्यालय स्थापना र मतदाता शिक्षा कार्यक्रमका लागि मतदाता शिक्षा कार्यकर्ता गाउँ गाउँमा खटिसकेको जानकारी दिए । उनले मतदान केन्द्र निर्धारण कार्य समेत अन्तिम चरणमा पुगेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: