माओवादी केन्द्र र नेकपा पार्टीबीच एकीकरण

काठमाडौं, चैत ३१ । नेकपा माओवादी केन्द्र र पूर्वसांसद टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकीकरण भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार एक समारोहबीच दुई पार्टीबीच एकीकरणको घोषणा भएको हो । यी पार्टीबीच विगत एक वर्षदेखि एकीकरणको प्रयास थालिएको थियो ।

पार्टी एकीकरणको विषय टुङ्गो लगाउन माओवादी केन्द्रले नेता रामबहादुर थापा, अमिक शेरचन र गोपाल किराती रहेको समिति बनाएको थियो । चार दशकभन्दा बढी समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका राई नेकपा एमाले खोटाङबाट प्रत्यक्ष निर्वाचित संसद समेत हुन् ।

सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए ।

राईलाई नेकपा माओवादी केन्द्रमा ल्याउन अमिक शेरचनको नेतृत्वमा वार्ता समिति गठन गरिएको थियो । समितिमा गोपाल किराती, अग्नि सापकोटा, पूर्णाकुमारी सुवेदी लगायत सदस्य थिए ।

एक वर्षदेखि दुई पार्टीबीच एकताको प्रयास भइरहे पनि एकीकरणपछि पाउने पदमा कुरा मिलेको थिएन । एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने माओवादी केन्द्रले बताएको छ । त्यसैगरी रामहरि कार्की र अम्बेर राईले पोलिटव्यूरो सदस्यको जिम्मेवारी पाउने सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्