डिपिएल क्रिकेटमा विराटनगर किंग्स र कञ्चनपुर आइकोनिक विजयी

धनगढी, चैत ३१ । धनगढीस्थित अञ्चल प्रहरीको खेल मैदानमा भइरहेको सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटअन्तर्गत चौथो दिनको खेलमा कञ्चनपुर आइकोनिक र विराटनगर किंग्स विजयी भएका छन् ।

विहान भएको पहिलो खेलमा कञ्चनपुर आइकोनिकले रोमाञ्चक जित हासिल गरेको छ । आईकोनिकले धनगढी टिम चौराहालाई ११ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनायो । कञ्चनपुरका लागि सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । सागर पुनले ४३ बलमा २० रन वनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई विकेट लिए । सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिए ।

पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाएर अल आउट भयो । धनगढीका लागि पारस खड्काले २३ बलमा २३ रन, आरिफ शेखले ३२ बलमा २२ रन पृथु बास्कोटाले १७ बलमा १९ रन र अनिल मडण्लले १५ बलमा १२ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए ।

प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए । धनगढीले ५ रन जोड्दा आफ्ना वाकी सवै विकेट गुमाएको हो । कञ्चनपुरलाई जिताउन अभिनाश कर्णले तीन, ललित भण्डारी र चन्द्र साउदले दुई दुई विकेट लिए । सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए । दिउसो भएको दोस्रो खेलमा विराटनगर किंग्सले सीवाइसी अत्तरियालाई ८ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिला व्याटिङ गरेको सीवाइसी अत्तरियाले पुरा ओभर खेली सबै विकेट गुमाउँदै ९२ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको विराटनगर किंग्सले ११.५ ओभरमा ९३ रनको लक्ष्य भट्टायो । जारी लिगमा विराटनगर रन चेज गरेर जित्ने पहिलो टिम बनेको छ । यसअघिका सातै खेलमा पहिला व्याटिङ गर्ने टोलीले जितेको थियो ।

सीवाइसी अत्तरियाको स्कोर पहिला व्याटिङ गरेको टोलीले डीपीएलमा बनाएको सबैभन्दा कम स्कोर हो । सीवाइसीका महबुब आलमले २७ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

करण केसी इनिङ्सको अन्तिम बलमा १७ रन बनाइ रन आउट भए । यसैगरी विराटनगर किंग्सका सन्दीप लामिछानेले ३ विकेट लिए भने जितेन्द्र मुखियाले २ विकेट लिए । विराटनगर किंग्सको तर्फबाट आरिफ शेद र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट साझेदारी गरे । उनीहरुले ६७ रनको साझेदारी गरे । शेखले नटआउट ४६ रन प्रहार गरे भने दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए।

कमेन्ट गर्नुहोस्