यमनमा भोकमरी, ९० लाख भन्दा बढी भोकमरीको चपेटामा

चैत ३१ । यमनका ९० लाखभन्दा बढी मानिसहरुलाई तत्काल मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ ।

द्वन्द्वग्रस्त उक्त क्षेत्रमा तत्लका खाद्य सहायता पुर्‍याउन नसकेमा उनीहरु गम्भीर भोकमरीको चपेटामा पर्ने डब्लुएफपीले जनाएको छ ।

यमनका सबै क्षेत्रमा भोकमरीको अवस्था रहेको र अहिले मानिसको जीवन रक्षाका लागि तीब्र गतिमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको पनि बताइएको छ ।

भोकमरीका कारण आपतकालिन अवस्था सिर्जना भएको र यो अवस्थाको सामना गर्नका लागि एक अर्ब २० करोड अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने डब्लुएफपीले जनाएको छ । यमनमा भोकमरी तथा खाद्य सुरक्षाको अवस्था निकै गम्भीर अवस्थामा पुगेको छ ।

तत्काल सहयोग पुर्‍याउन नसकिए लाखौं मानिसको जीवन जोखिममा पर्ने भएकाले सहयोगका लागि अपिल पनि गरिएको छ । अहिले ६७ लाख भन्दा धेरै मानिसलाई तत्काल आधारभुत खाद्यान्न सहयोगको खाँचो रहेको डब्लुएफपीले जनाएको छ । त्यसमा २२ लाख भन्दा धेरै बालबालिका छन् ।

कमेन्ट गर्नुहोस्