राजनितिक समाधानप्रति अमेरिका गम्भीर छैनः सिरियाली राष्ट्रपति

दमासकस, बैसाख १ । सिरियाली राष्ट्रपति बसार अल असदले आफनो देशमा जारी द्वन्द्व शान्ति वार्ताबाट समाधान गर्ने उपाय अप्रभावकारी भएको बताउनुभएको छ । किनकी द्वन्द्व अन्त्यका लागि वासिङ्गटन गम्भीर नभएको आरोप उहाँले लगाउनुभएको छ ।

सिरियाली राजनीतिक समस्यातर्फ उपलब्धि हासिल गर्न संयुक्त राज्य अमेरिका कहिले पनि इच्छुक नभएको दोषारोपण असदले लगाउनुभएको छ ।

सिरियामा जारी द्वन्द्वलाई आतङ्ककारीहरूलाई संरक्षण गर्ने छाताको रूपमा अमेरिकाले प्रयोग गरेको असदले एएफपी समाचार समितिलाई दिइएको एक स्पष्ट अन्तर्वार्तामा बताउनुभएको छ ।

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछाडि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि हाबी हुँदै गयो ।

जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म ३ लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् । रासस

कमेन्ट गर्नुहोस्