नियम मिच्दै धनगढी उपमहानगरपालिका

धनगढी, बैसाख १ । नगर क्षेत्रलाई सफा, सुन्दर बनाउन केन्द्रीय भूमिका निर्वाह गर्ने धनगढी उपमहानगरपालिकाले आफै बेथितिको पराकाष्ठा प्रस्तुत गरेको छ । धनगढीका सडकमा देखिएका अवरोध हटाउनमा उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको उपमहानगरपालिकाको कार्यालयले आफै सडकमा भवन निर्माण सामाग्री थुपारेको छ । निर्माणाधीन नयाँ भवनका लागि एलएन चौक हसनपुर रोड अन्तर्गत आफ्नै कार्यालय अगाडिको सडकमा निर्माण सामाग्री थुपारेको हो ।

एक समय सडकमा भएको अवरोध हटाउने भन्दै निर्माण सामाग्रीहरु उठाउने समेत चेतावनी दिएको धनगढी उपमहानगरपालिकाको कार्यालयले अहिले आफै सडकमा ढुङ्गा, गिट्टी थुपार्न पुगेको छ । उपमहानगरपालिकाको कार्यालय जस्तो सरकारी निकायले आवत जावतमा समस्या हुने गरी आफै सडकमा निर्माण सामाग्री थुपारेपछि नगरवासी तीन छक्क परेका छन् । नगर क्षेत्र सफासुग्घर राख्ने र सडकमा हुने अवरोध हटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उपमहानगरपालिकाको कार्यालयले सडकमा ढुङ्गा, बालुवा थुपारेकोप्रति उनीहरुले असन्तुष्टी व्यक्त गरेका छन् । विधि, नियम, शासनको पालना हुन नसकेको देशमा जसले जे गरे पनि हुने रैछ भन्ने सन्देश धनगढी उपमहानगरपालिकाको कार्यबाट बाहिर गएको नगरवासीको भनाइ छ ।

स्थानीय केशव उपाध्यायले मुलुक अस्तव्यस्त रहेकाले जसले जे गरे पनि हुने बताए । उनले मुलुकभित्र ज्यादति बढेको भन्दै राज्यको निकाय नै ज्यादति गर्न तर्फ अग्रसर भएको आरोप लगाए ।
‘यस्तै, कारणले सर्वसाधारणको राज्यको निकायप्रति अविश्वास बढ्दै गएको छ’, उनले भने–‘धनगढी उपमहानगरपालिका कार्यालयको कार्य शोभनीय होईन । सडक अवरोध हुने गरी राखिएको सामाग्री तत्काल हटाउनु पर्दछ ।’
सडकमा राखिएको निर्माण सामाग्रीले दुर्घटना निम्त्याउने सक्ने भन्दै यसतर्फ सबै निकाय सचेत हुन आवश्यक रहेको कतिपयको जोड छ । उनीहरुले उपमहानगरपालिकाको कार्यालयले सडकमै थुपारेको सामाग्री यथाशिघ्र हटाउनु पर्ने बताउँछन् । उपमहानगरपालिकाको कार्यालयले गर्ने नहुने काम गरेको देवराज जैशीले बताए । उनले अवरोधले दुर्घटना बढाउने भन्दै शीघ्र हटाउनका लागि आग्रह गरे ।

धनगढीमा खोलानालाहरु अतिक्रमणमा परेका छन् । फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । बजारमा बढ्दो सवारी साधनको चापले गर्दा दुर्घटनाको खतरा बढ्दै गएको भए पनि व्यवस्थित गर्न सकिएको छैन । यसले आगामी दिनमा ठूलो चुनौती सावित हुन सक्ने भन्दै सचेत हुन आवश्यक रहेको धनगढीका योगेश साउँदले बताए ।

व्यवस्थित सहर बनाउनमा जति भूमिका नगरवासीको छ, त्यो भन्दा बढी भूमिका उपमहानगरपालिकाको कार्यालयको छ । यी दुई पक्षबीचको समन्वयबाट नै नगरको मुहार फेरिनेछ । तर, उपमहानगरपालिकाको कार्यालयले सानालाई ऐन लगाउने र ठूलालाई चैन हुने चरित्र आफै देखाइरहेको कतिपयको भनाइ छ । नगरपालिकाले सडकमै निर्माण सामाग्री थुपार्नुले यस्तै सन्देश गएको बताउँछन् स्थानीय गणेश पनेरु । उनले भने–‘यस्तो हर्कत सानालाई ऐन, ठूलालाई चैन हो । उपमहानगरपालिकाले व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।’

चल्तीको सडकमा निर्माण सामाग्री थुपार्नु किमार्थ उचित मान्न सकिन्न । यसले सडक दुर्घटनाको जोखिम बढ्न सक्छ । त्यसैले सम्बन्धित सरोकारवालाले यसतर्फ गम्भीर हुन जरुरी रहेको नगरवासीको भनाइ छ ।

धनगढी उपमहानगरपालिकाको कार्यालयले व्यापारिक प्रयोजनका लागि उक्त भवन निर्माण गर्न लागेको हो । धनगढी उपमहानगरपालिकाले बनाउन लागेको सो भवन मापदण्ड अनुसार नरहेको भन्दै यसअघि नगरवासीले भवनकै पनि विरोध गरेका थिए । तर, सो कार्यालयले भने सडक र भवनबीचको दूरी मापदण्ड भन्दा पनि बढी रहेको दावी गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: