अञ्चलस्तरीय आमसभाको तयारीमा राप्रपा

कैलाली, बैसाख १ । स्थानीय तहको चुनावलाई लक्षित गर्दै राष्ट्रि प्रजातन्त्र पार्टीले कैलालीको टीकापुरमा अञ्चलस्तरीय आमसभा गर्ने भएको छ । बैशाख ३ गते हुने आमसभालाई पार्टी अध्यक्ष कमल थापा तथा सो पार्टीका नेताहरु लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेरलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राप्रपा कैलालीले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि आमसभाको तयारी तीव्र रुपमा भईरहेको जनाएको छ ।

सेती अञ्चलस्तरीय सभामा सेती अञ्चलका विभिन्न जिल्लाबाट गरि २० हजार भन्दा बढीको सहभागिता रहने पत्रकार सम्मेलनमा राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले बताए ।

स्थानीय तहको चुनावलाई लक्षित गर्दै राप्रपाले देशभर अञ्चलस्तरीय आमसभा गरिरहेको छ । झापाबाट शुरु भएको अञ्चलस्तरीय आमसभा बैशाख ४ गते कञ्चनपुरमा महाकाली अञ्चलस्तरीय आमसभा गरेर समापन गरिने पत्रकार सम्मेलनमा जनाइयो ।

राप्रपाका जिल्ला अध्यक्ष सिंहले केही दिनभित्रै जिल्लाका सबै स्थानीय निकायमा आफ्नो पार्टीबाट उम्मेदवारको टुंगो लगाइने बताए । उनले चुनावको तालमेलका लागि विभिन्न पार्टीसंग छलफलसमेत भईरहेको बताए ।

धनगढी, टीकापुर, भजनी, सुखड नगरपालिका तथा जानकी, मोहन्या, कैलाली र चुरे गाउँपालिकामा आफ्नो पार्टीको पकड बलियो रहेको अध्यक्ष सिंहले दावी गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: