राप्रपा फेरी आन्दोलनमा, निर्वाचन आयोगको निर्णय जलाउने

 

काठमाडौं, उपप्रधानमन्त्री कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको बिरोधमा आन्दोलनको घोषणा गरेको छ ।
पार्टीको विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाउने निर्णय निर्वाचन आयोगले पुनर्विचार नगरेको विरोधमा निर्वाचन आयोगको प्रतिलिपि जलाउने निर्णय गरेको छ ।

शुक्रबार पदाधिकारीहरुको बैठकले आयोगललाई यसअघि दिएको ज्ञापनपत्रको सम्बन्धमा स्पष्ट जवाफ नआएकोले निर्वाचन आयोगलाई पुन स्मरणपत्र दिने र बैशाख ५ गते ७४४ स्थानीय तहमा जुलुससहित निर्वाचन आयोगको निर्णयको प्रतिलिपि जलाउने निर्णय गरेको हो ।

बैशाख ८ गते ७२ जिल्लामा विरोध सभा गर्ने र जिल्ला निर्वाचन आयोग अगाडि एक घण्टा धर्ना दिने र काठमाण्डौ उपत्यकामा केन्द्रीय निर्वाचन आयोग अगाडी शक्ति प्रदर्शन सहित धर्ना दिने निर्णय पनि गरेको छ ।

आजको पदाधिकारी बैठकले आगामी स्थानीय तहको निर्वाचनको लागि ‘राप्रपाको प्रतिवद्धता – सकारात्मक परिवर्तन’ भन्ने नारा समेत तय गरेको छ ।
राप्रपाका अध्यक्ष कमल थापा स्थानीय विकासमन्त्री हुँदासमेत आयोगको निर्णय जलाउने बैठकले निर्णय गरेको छ ।

आफ्नो विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएको विरोधमा राप्रपाले यसअघि पनि आयोगमा धर्ना दिने क्रममा भएको झडपमा राप्रपाका थुप्रै नेता कार्यकर्ता घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्