बैशाख ९ गतेभित्र माओवादी केन्द्रका उम्मेद्वारको टुंगो

वैशाख १ ।  नेकपा माओवादी केन्द्रले यही ९ गते सम्ममा पार्टीको तर्फबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाईसक्ने निर्णय गरेको छ ।

राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टीको हेडक्वार्टर बैठकले ९ गतेभित्र उम्मेदवारको टुङ्गो लगाई सक्ने र घरदैलो अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले बैशाख ९ गते दिउँसो १ बजे देशका सबै महानगरपालिका र नगरपालिका र गाउँपालिकामा चुनावी जनसभा गर्ने निर्णय गरेको माओवादीले पार्टीको मूल नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ र नगरमा सिंहदरबार’ तय गरेको छ ।

यस्तै बैठकले मधेशी मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधानका लागि अपिल गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी छिन ।

बैठकले मोर्चालाई वार्ता र सहमतिका माध्यमवाट समस्या समाधान गरि स्थानीय तहको निर्वाचनमा सहभागी बन्न आग्रह गरेको हो । माओवादी केन्द्रको बैठकले मोर्चासँग निरन्तर वार्ता गरी चुनावमा सहभागी हुने वातावरण तयार पार्न सरकारलाई आग्रह पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्