अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन

ऐतिहासिकरुपमा सिन्धुलीगढीको चर्चा नसुन्ने कमै होलान् । यही गढीको इतिहास बोकेको सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा चुनावी माहौल निकै तातेको छ । र, सोही अनुरुप उम्मेदवारहरुको लर्को पनि थपिँदैछ । उम्मेदवारका कतिपय आकांक्षीबीच नेकपा माओवादी केन्द्रबाट भने रामबहादुर थापाको चर्चा बाक्लो छ । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थापा कमलामाई नगरपालिकालाई नमूना नगर बनाउने सपना देख्नुहुन्छ । कसरी हुन्छ त यो सपना पुरा ? थापासँग एभरेष्टदैनिकडटकमले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।

मेयर पदका लागि उम्मेदवारी दिने सोच कसरी आयो ?
यतिखेर नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व हामी सबै सामु रहेको छ । यी उपलब्धिी संस्थागत गर्न सकिए भने मात्रै हामी आफ्नो क्षेत्रको समेत विकास गर्न सक्छौं । त्यसैले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, बिभिन्न पिछडिएको वर्गको साथै जनताको हक अधिकारलाई संस्थागत गर्न र सोही अनुरुप स्थानीय जनताका अपेक्षा पुरा गर्न सक्ने नेतृत्व आवश्यक भएकोले मैले उम्मेदवारी दिन खोजेको हुँ । अर्कोतर्फ आम नगरवासीले समेत अग्रगामी सोच राख्ने, नगरको भलो सोच्ने, केही नयाँ र दीर्घकालिनरुपमा समृद्धीको बाटोमा लैजान खोज्ने नेतृत्वको चाहना राखेका छन् । त्यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

पार्टीमा मेयरका लागि अरु पनि आकांक्षी देखिन्छन्, तपाईलाई नै किन टिकट दिने त ?
पार्टीले एउटा महान उद्देश्य बोकेर सशस्त्र संघर्षदेखि आर्थिक समृद्धिको नेतृत्व गरिरहेको छ । पार्टीका सर्वोच्च नेता कमरेड प्रचण्डको ठूलो त्याग र कुशलतापूर्ण नेतृत्वलाई सम्मान गर्दै म लामो समयदेखि पार्टीको मिशनमा सहभागी छु । यही आधारमा अहिले माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजनक समितिको जिम्मेवारी निर्वाह गरिरहेको छु ।

२०४९ सालको स्थानीय निर्वाचनमा मझुवा गाविसको अध्यक्षको जिम्मेवारी र २०५४ को निर्वाचनमा यसै कमलामाई नगरपालिकाको क्षेत्रबाट जिल्ला विकास समितिको सदस्य भएर मैले आफूले सकेसम्म पार्टीको नीति पालना गर्दै जिम्मेवारी पुरा गरे । यसैगरी सामाजिक क्षेत्रमा समेत म सक्रिय रहँदै आएको छु । गणेश मावि मझुवा, सिन्धुली विद्याश्रम मावि दोभानटार, गौमती उच्च मावि माडी बजार, कमला उच्च मावि ढुंग्रेवास र सिन्धुली बहुमुखी क्याम्पय लगायतका शैक्षिक संस्थाहरुमा लामो समयसम्म बिभिन्न जिम्मेवारीमा काम गरेँ । जनतालाई केन्द्रमा राखेर उनीहरुका ससाना गुनासा सुन्ने, आवश्यक पहल गर्ने, विकास निर्माणलगायतका कार्यमा सक्रियता, आम जनतामाझ मेरो लोकप्रियता र इमान्दारिता जस्ता पक्ष पार्टीले मूल्यांकन गर्ने मेरो विश्वास हो । हाम्रो नगरलाई समृद्ध बनाउन, आम जनताका समस्याहरु हल गर्न, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न, विकास निर्माणको अभियान सञ्चालन गर्न मसँग रोडम्याप छ, पार्टीले दिने निर्देशन छ, यस आधारमा जनता र पार्टीले मलाई विश्वास गर्छन भन्ने लागेको छ ।

कमलामाईको विकासका लागि तपाईको रोडम्याप के छ त ?
कमलामाई नगरपालिका एउटा विशिष्ट इतिहास बोकेको क्षेत्र हो । बेलायती साम्राज्यवादका सेनाहरुको पराजय देखि इतिहासका कैयन् कालखण्डमा यो क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तो सुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जानसक्छन् । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने मेरो रोडम्याप हो । यसका लागि नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको छ ।

हाम्रो भौगोलिक अवस्थिति जटिल भएपनि यसले यथेष्ट सम्भावना बोकेको छ । हामीले महाभारत पर्वतको संरक्षण गरि उक्त क्षेत्रका बस्तीहरुलाई व्यवस्थित गरी कृषि क्रान्ति गर्नुपर्छ । यसक्षेत्रको भूसंरक्षण आवश्यक छ । अनावश्यकरुपमा बालुवा खनन हुने कुरा रोकिनु पर्दछ । नगरपालिकाले नै किसानलाई आवश्यकता अनुसार दाल चामलको व्यवस्था गर्नुपर्छ ।

माथि डाँडापाखामा सोही अनुसारको खेती गरी भुक्षय रोक्ने, र सोही अनुसारको कृषि खेती गरिनु जरुरी छ । यसबाटस्वच्छ पिउने पानी सिंचाईको लागि आवश्यक पर्ने पानीको साथै मझौला खाले विद्युत गृह निर्माण गर्न मद्दत पुग्नेछ । भूक्षय रोकिएमा माढी फाँट बजार बस्तहरुमा तटबन्द गर्नुपर्ने र सधै बस्तीहरु जोखिम पर्ने समस्याको अन्त्य हुनेछ । साथसाथै ऐतिहासिक सिन्धुली गढीको सौन्दर्यतामा वृद्धि भई पर्यटन व्यवसाय फस्टाउनेछ । यसबाट नगरपालिकाले प्रशस्त फाइदा पाउनेछ । फलफूल र बोट विरुवाहरु हुर्किसकेपछि यस भेगका बासिन्दाको परम्परागत खेती गर्दा लाग्ने श्रमको बचत हुनेछ । त्यो समय अन्य क्षेत्रमा लगाउन सकिनेछ । वनस्पतिजन्य खेतीबाट उत्पादित वस्तुलाईलाई नगरपालिकाले नै खरिद विव्रmको व्यवस्था मिलाउनु पर्छ । उक्त खेती गर्दा किसानलाई नोक्सानी परे नपाले क्षतिपूर्ति दिनेछ । वातावरण जोगायबापत पाउने रोयल्टी सम्बन्धित निकायबाट लिई किसानलाई वितरण गरिनेछ । वन जंगलबका बिचका ससाना वस्तीलाई समधर भूमिमा जहाँ पहिरो र डढेलोको जोखिम हुँदैन र विकास निर्माण गर्न सहज हुन्छ त्यस ठाउँको अध्ययन गरी उनीहरुको मन्जुरीमा बस्ती व्यवस्थापन गरिनेछ । जसबाट विकासका पूर्वाधार निर्माण गर्न सहज हुनेछ । समथर र उर्वर भूमिलाई आधुनिक खेती गर्ने व्यवस्था मिलाउनु पर्छ । जमिनको बाझो राख्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । कमला नदि र मरिण ठाकुरको जलाधार क्षेत्रका मुहानहरुमा रहेका वस्तीहरुलाई आवश्यक मुअब्जा दिई त्यस क्षेत्रमा बोट विरुवा लगाउन अभिप्रेरित गरिनेछ । भूमिको स्वामित्व सम्बन्धित व्यक्तिको नै हुनेछ ।

सिन्धुलीमाढी, भिमान लगायत नपाक्षेत्रभित्र रहेका व्यापारिक केन्द्र र बजार वस्तीहरुलाई व्यवस्थित गरी बाटो पानी ढल बिजुलीको प्रबन्ध मिलाइनेछ । जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गरिनेछ । निर्वाचित जनप्रतिनिधिहरुले दिनको न्यूनतम दुई घण्टा सार्वजनिक काममा खट्नु पर्नेछ । विस्तारै यो प्रकृयामा नगरवासीलाई सामेल हुन अपिल गरिनेछ । यसबाबट श्रमप्रति सम्मान गर्न र चोक चोक र चिया पसलमा बसी अनावश्यक गफ गरी समय बिताउने प्रवृत्तिलाई क्रमैसँग निरुत्साहित गरी नगर निर्माणमा नगरवासीको योगदानलाई प्रोत्साहन गरिनेछ । नगर प्रमुखको स्प्रीड अनुसार नगरको गति अघि बढाउने हुँदा प्रमुखले दिनको चार घण्टा सार्वजनिक निर्माणमा श्रमदान दिईनेछ । सबै नगरवासीका हातले नै नगरको भविष्य कोरी देशकै उत्कृष्ट नगरपालिका बनाइनेछ ।

नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी जुनसुकै विद्यालयमा पढ्ने इच्छा विद्यार्थीले गरे पनि सोको व्यवस्थापन नगरपालिकाले मिलाउनेछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको पुस्तक, कापी कलम, पोशाक र विहानको खानाको व्यवस्था नगरपालिकाले मिलाउने छ । विस्तारै विद्यार्थीको बसोबास समेत मिलाउनेछ । प्राविधिक शिक्षामा जोड दिइनेछ ।

स्वस्थ जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गरिनेछ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ ।

ऐतिहासिक सिन्धुली गढी, धार्मिक स्थल शिद्धबाबा, कालीमाई, कमलामाई लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्र्याइनेछ । सिन्धुलीगढी र गोल्न्जोर पर्वतलाई जोड्न महाभारत डाँडामा पद मार्ग निर्माण गरिनेछ । पर्यटक भित्र्याउन यो पैदल मार्गले ठूलो भूमिका निर्वाह गर्नेछ । अन्य गाउँपालिकासँग समन्वय गरि यो पैदल मार्ग हरिहरपुर गढी, दुम्जा र फिक्कलसम्म विस्तार गर्न नगरपालिकाले पहल गर्नेछ । यसको मुख्य केन्द्र सिन्धुलीगढी हुनेछ ।

नगरभित्रका जष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि आश्रम खोलीनेछ । ती नागरिकको जिम्मा नगरपालिकाको हुनेछ ।

नगरबासीहरुको बृहत सर्वपक्षिय भेला गरी त्यसबाट प्राप्त रायसुझावको आधारमा नगरपालिकाको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।

अहिले भोग्नुपरेको समस्याहरु के के छन् ?
यो नगरपालिकाभित्र साविक जलकन्या गाविस, भद्रकाली गाविस, डाडीगुराँसे गाविस, कमलामाई नगरपालिका, रानीचुरी गाविस र रानीबास गाविस रहेकाले गर्दा महाभारत पर्वत, चुरेक्षेत्र समेत यसै नगरपालिकाभित्र पर्दछन् । यस क्षेत्रबाट बग्ने बाढी पहिरोको कारण यो नगरपालिका अति नै जोखिममा छ । सर्वप्रथम यो समस्या हल गर्नु नगरपालिकाको पहिलो जिम्मेवारी हुनेछ । जसको लागि अबलम्बन गर्नु पर्ने उपायहरु सवाल नं. ३ को जवाफमा दिइएसकेको छु । यसको साथै गरिबी, शिक्षा, स्वास्थ, सरसफाई, बेरोजगारी पनि यो नगरको मुख्य समस्याहरु हुन ।

अरु दलहरुले पनि जित्ने दावी गरेका छन्, तपाईको मुख्य प्रतिस्पर्धी को ?
गत दोस्रो संविधान सभाको निर्वाचनमा हाम्रो पार्टी विरुद्ध कांग्रेस र एमालेले मोर्चाबन्दी गरेका थिए । अहिले पनि त्यसै गर्छकि भन्ने मात्र डर हो । अन्यथा यो नगरपालिका क्षेत्र विगतदेपखि नै हाम्रो पार्टीको आधार क्षेत्र नै हो । त्यसैले कोही कसैसँग डराउनु पर्ने अवस्था छैन ।

 नगरवासीले तपाईलाई किन जिताउने ? 
यो निर्वाचन भनेको विगतमा भएका गाविस, नगरपालिका र जिविसको जस्तो अधिकार विहिन जनप्रतिनिधिहरुको चुनाव नभई सिंहदरवार भित्र राखिएको अधिकार खोसेर तपाई हाम्रै घर दैलोमा ल्याउने प्रक्रिया हो । यो अधिकार तपाई हामीले नै चुनेको प्रतिनिधिहरुद्वारा तपाई हामीलाई नै उपलब्ध गराउने निर्वाचन भएको हुँदा सबै नगरवासी आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरुले असाध्यै गम्भिरतापूर्वक लिनुहुनेछ भन्ने आशा लिएको छु ।

चुनाव जिताउने भनेको सम्मानित नगरवासीको हातको कुरा हो । यहाँका जनसमुदाय विगतदेखि नै बामपन्थी विचारले ओतप्रोत भएको हुनुुहुन्छ । यसर्थ हाम्रो पार्टी माओवादी केन्द्र साच्चिकै कम्युनिष्टहरुको केन्द्र भएको हुँदा यसका उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ । उम्मेदवार जो भएपनि यसले खासै महत्व राख्दैन । तैपनी मतदाताहरुले चिने जानेकै व्यक्ति भए मतदाता पनि यसै नगरपालिका क्षेत्रको जिविस सदस्य समेत भई काम गरीसकेको हुँदा मेरो बारेमा राम्रा नराम्रा सबै कुरा नगरबासीहरुलाई अवगत नै छ । मलाई विश्वास छ कि म प्रति झण्डै ८० प्रतिशत मतादाताहरुको सहानुभुति हुन्छ । तसर्थ उम्मेदवारी दिए भने मैले हार्छु भन्ने लाग्दैन मलाई । जित सुनिश्चित छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: