नवलपरासीमा स्थानीय चुनावकाे लागि भव्य तयारी, ३२ दल दर्ता

नवलपरासी, वैशाख २ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

ठूला तथा साना दलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।

चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले एकातिर उम्मेदवार चयन गर्ने कार्यमा जुटेका छन् भने अर्कोतिर विभिन्न कार्यक्रममार्फत पार्टीका नेता तथा त्यसका सम्भावित उम्मेदवारले मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् ।

सदरमुकाम परासीको मुख्य आकर्षण केन्द्र बनेको रामग्राम नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र मधेसी मार्चाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तर स्थानीय तहको निर्वाचनमा भाग नलिने बताउँदै आएका मोर्चाले संविधान संशोधन भएर निर्वाचनमा जान सक्ने वातावरण सृजना भए साझा उम्मेदार उठाउन योजनामा देखिएको छ ।

अन्य साना दलहरुले पनि सकभर मोर्चाबन्दी अथवा मिलेर साझा उम्मेदवार उठाउने योजनामा केन्द्रीत भएका छन् । रामग्राम नगरपालिकाका लागि दलहरुले जनताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा जुटेका छन् ।

सो नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलबाट करिब एक दर्जन आकांक्षी देखिएका छन् । काँग्रेसबाट नरेन्द्रकुमार गुप्ता, विक्रम यादव , शिवशंकरप्रसाद राय र वैजनाथ जयसवाल चर्चामा छन् ।

यस्तै नगरप्रमुख पदमा एमालेबाट वीरेन्द्र यादव र दीपेन्द्र यादवको चर्चा छ भने माओवादी केन्द्रबाट बुद्धन अलिको चर्चा छ । संविधान संशोधन भएर निर्वाचनमा सहभागी हुने वातावरण सृजना भएमा मधेसी मोर्चाको साझा उम्मेदवारको रुपमा सत्रजित यादवलाई नगर प्रमुखमा अघि सार्ने चर्चा छ ।

१२८ दशमलव ३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रामग्राम नगरपालिकामा कुल ५९ हजार ४५५ जनसङ्ख्या रहेको छ । छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका कायम गरिएको छ । कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाताका लागि जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

स्थानीय तह निर्वाचनका लागि नवलपरासीमा ३२ राजनीतिक दलले दर्ता छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: