चट्याङले लियाे चारकाे ज्यान

काठमाडौं, वैशाख २ । धनकुटा, इलाम र मकवानपुर जिल्लामा हुरीवताँससँगै चट्याङ्ग लाग्दा चार जनाको मृत्यु भएको छ ।

चट्याङ्गबाट एक बालकसहित दुई जना घाइते भएका छन ।

धनकुटाको खाल्सा छिन्ताङ सहिद भुमि गाउँपालिका–१ मा हुरीवताँससंगै परेको चट्याङले लागेर ३६ वर्षीय छत्रकुमारी राईको घटनास्थलमा नै मृत्यु भएको हो ।

चट्याङसँगै लागेको आगोका कारण राईको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटाकै साँघुरीगढी गाउँपालिका १० ताम्राङका २४ वर्षीय कृष्णा राईको पनि चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलामको देउमाई नगरपालिका–२ मा चट्याङ लागेर २३ वर्षीय सञ्जीव राईको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि इलाम अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङले मकवानपुरको बागमती गाउँपालिका ९ वेतिनीका २८ वर्षीय जयराम तितुङको घटनास्थलमा नै मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा हुरीवताँससंगै परेको चट्याङले जयरामको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले जयरामको २५ वर्षीया पत्नी मिश्रा तितुङ र १८ महिनाको बालक अनमोल घाइते भएका छन ।

यसैबीच, तीव्र हावा हुरीसँगै परेको पानीका कारण पुर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: