बाबुरामलाई खुला पत्रः लक्ष्मण खडका र मुकुन्द घिमिरे नबन्नुस् डा.साब

भोजभतेर र पैसाको खोला बगेको ट्विटपछि बाबुरामको चौतर्फी आलोचना

कञ्चन श्रेष्ठ
पूर्व प्रधानमन्त्री, पूर्व अर्थमन्त्री, जवाहरलाल नेहरु विश्वविद्यालयबाट विकासको अर्थराजनीतिसँग सम्बन्धित क्षेत्रमा विद्यावारिधि गरेका, अर्थराजनीतिका बारेमा पुस्तक प्रकाशन गरेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बिल्कुलै नयाँ जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार, अहिले वैशाखको पहिलो साता देशैभरी गर्मी बढिरहेको बेला पैसा र भोजभतेरको खोलो बग्दैछ रे । यो बिल्कुलै नयाँ जानकारी हो नेपाली जनताका लागि ।

विद्यावारिधी गरेका व्यक्तिले तथ्यांक, त्यसको श्रोत, त्यसको विश्वसनियता नबुझ्ने कुरा होइन । त्यसमा पनि विगतका दिनमा चुनाव लडेर अत्यधिक मतले जितेका हुन बाबुराम भट्टराई । उनले भनेको पत्याउनै पर्यो । पिएचडी गरेकै व्यक्तिले झूठो बोल्छ भनेर कसरी पत्याउनु । त्यसैले मान्नै पर्यो, बाबुरामले भनेको सही होला । तर यो खोलो कहाँ बग्दैछ त्यो भने उनले भनेनन् । देशैभरी खोलो बग्दैछ भनेर उनले लेखे । तर कुन देशमा बगिरहेको हो ? कहाँको मुहानबाट शुरु भएको हो ? भन्ने कुरा पनि जानकारी पाएको भए दिनभरी खेतमा बाली भित्र्याउन चटारो परेका आम नेपालीहरुले साँझको खाना पकाउन कष्ट गर्नु पर्ने थिएन ।

याे पनि पढ्नुस  भट्टराई र यादवबीच एकताको भारतीय कनेक्सन

बाबुराम भट्टराईले यो नयाँ जानकारी दिएपछि एक हुल युवाहरुले देशैभरी फोन गरेर यो खोलो कता बगिरहेको छ भनेर जानकारी बटुल्न खोजेछन् । पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्मका अधिकांश जिल्लामा रहेका साथीहरुलाई सोध्दा कतै पनि यो खोलो भेटिएनछ । गर्मीले खोलाहरु सुक्दै गएको बेला यस्तो नयाँ खोलाको मुहान फुटेको भए त सबैलाई थाहा हुनुपर्ने, तर कतै पनि यस्तो भोजभतेर र पैसा बग्ने खोला नभेटेपछि उनीहरुले निश्कर्ष निकाले– बाबुरामको मगज खुस्किएछ ।

बाबुरामको मगज कसरी खुस्किन सक्छ ? यसको पनि त आधार हुनुपर्यो । उनले जति कसले पढेको छ र ? गोथा कार्यक्रम, कम्युनिष्ट घोषणापत्रदेखि रोज लक्जमबर्गसम्म उनलाई कण्ठ छ । माओका हरेक रचना कण्ठ छन् । जवाहरलाल नेहरुदेखि एमएल झिंगन, रोस्तोवदेखि अमत्र्य सेन, हैबरमासदेखि वेभरसम्म बाबुरामको दिमागमा छन् । अनि उनलाई हामीले खुस्केट भन्ने ? के आधारमा ?

याे पनि पढ्नुस  बजेट बनाउँदा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो : डा भट्टराई

“अनि बाबुरामले चाहिँ हुँदै नभएको कुरा भन्न हुने त ?” साथीहरु तर्क गर्छन् । “चुनाव चिन्ह नदिएको झोंकमा जे पायो त्यही भन्ने ? के बाबुरामको औकात यही हो ? के उनको हाइट यत्ति हो ? विद्वान भन्ने व्यक्तिले यसको खुस्केट कुरा गर्नु हुन्छ ?”

यो तर्कको भने मसँग उत्तर भएन ।

बाबुरामले किन यसरी मगज खुस्कने गरी कुरा गरेछन् । केही समय अघि बाबुराम पत्नी हिसिला यमीले बेहोसीमा देशविरोधी कुरा गरेछु भनेर सार्वजनिकरुपमा नै माफी मागिन । कतै यो बेहोसीको रोग बाबुराममा त सरेन । अचेल धेरै दिन भो, कहिले उनले प्रचण्ड सरकारलाई इतिहास कै भ्रष्ट सरकार भनिरहेका छन्, कहिले निरंकुश सरकार । हिजो त उनले पञ्चायती सरकार समेत भने । हिजै फेरी उनले पैसा र भोजभतेरको खोलो बगेको समेत भने । आखिर के भएको हो बाबुरामलाई ?

याे पनि पढ्नुस  झण्डा नयाँ शक्तिको, चुनाव चिन्ह फोरमको, चुनाव अघि नै एकता हुने निश्चित

पिएचडी होल्डर बाबुराम, जनयुद्धका एक कमाण्डर बाबुराम, विकास र राजनीतिका ज्ञाता बाबुराम, केही गर्ने भिजन भएका बाबुराम, माओदेखि माक्र्ससम्म पढेका बाबुराम…. अहिले उनका आँखा किन तिर्मिराएछन् ? कतै उपेन्द्र यादवले झारफूक गरेर दिमाग त खुस्काइदिएनन् ।

बाबुरामको पछिल्लो अवस्था देख्दा दया लाग्नु स्वभाविकै हो । लोकले मानेका मान्छे न हुन बाबुराम, तर उनले के भनिरहेका छन् आजभोली । उनले चुनाव चिन्ह नपाएको झोंकमा आफ्नै धोती फुस्काउन थालेछन् । जे पायो त्यही भन्ने, जस्तो पायो त्यस्तै आरोप लगाउने ? यो छटपटी, यो आक्रोश, यो मानसिक विचलन, यो खुस्केटपना ? बाबुरामजी पच्दैन तपाईले यसो गरेको । यही कुरा बरु अरु आफ्ना कार्यकर्ता, नेतालाई भन्न लगाउनुस् । तपाईप्रति नेपाली जनताको इज्जत अझै रित्तिएको छैन । लक्ष्मण खडका या मुकुन्द घिमिरे बन्नतर्फ नलाग्नुस् ।

कमेन्ट गर्नुहोस्