हामीसँग एजेण्डा नै पर्याप्त छन, पैसा बाँड्नु पर्दैन– प्रवक्ता पम्फा भुसाल

काठमाडौं, चैत ३ । माओवादी केन्द्रले चुनावी अभियानका बारेमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भटटराईले लगाएको आरोपको खण्डन गरेको छ ।
संयोजक भट्टराईले पैसा र भोजभतेरको खोलो बगाएको भन्दै ट्टिवरमा आरोप लगाएपछि केन्द्रले आपत्ती व्यक्त गरेको हो ।

“जनताबीच जान हामीसँग हाम्रै एजेण्डा पर्याप्त छन्” केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन, “भट्टराईलगायतको आरोप वाहियात कपोकल्पित कुतर्क मात्रै हो ।”

माओवादी अहिले संगठन निर्माणमा लागेको बताउँदै प्रवक्ता भुसालले जनतामाझ जान पार्टीका एजेण्डा र जनपक्षिय राजनीति नै पर्याप्त हुने बताउनु भयो । “माओवादी केन्द्र अहिले आफ्नै संगठन निर्माणमा व्यस्त छ । हरेक तहमा हामीले बलियो संगठन बनाएका छौं । चुनावमा को उम्मेदवार हुने, कसरी जाने भन्ने छलफल अझै बाँकी छ । चुनावमा पुरै नहोमिएको बेला हाम्रो संगठनको विकासदेखि आत्तिएर पैसा र भोजभतेरको कुरा गर्न सुहाउँछ ?” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै उनले भनिन, “माओवादी र जनताबीच इतिहासदेखि नै एउटा सम्बन्ध रहेको छ । यसलाई पैसा या अरु कुराले प्रभावित गर्दैन ।”

बिभिन्न आरोह अवरोह पार गरेर दशकौंदेखि जनताको पक्षमा लड्दै आएको पार्टीलाई बुर्जुवा पार्टीहरुको जस्तो पैसा भोज भतेर गर्न आवश्यक नरहेको उनले बताईन । “जनताका मुद्दा सकिएपछि, जनतामाझ जान डराएपछि मान्छेले यस्ता कुतर्क गर्छन्, हामीलाई चुनाव जित्न यसो गर्नु आवश्यक छैन । जनताका एजेण्डा छन, जनताका मुद्दा उठाएका छौं । यो नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।”

नयाँ शक्तिलगायतले पैसा र भोजभतेरको खोलो बगाएर चुनावलाई प्रभावित गर्न खोजेको कुरा गैर राजनीतिक चरित्रको संकेत भएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: