बाबुरामजी हिम्मत भए भ्रष्टाचारको प्रमाण देखाइदिनुस्- सुरेन्द्र कार्की, प्रवक्ता, नेपाल सरकार

काठमाडौं, चैत ३ । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईको नियतमा नै शंका भएको बताएका छन् ।
चुनाव प्रभावित गर्न सरकारले राज्यकोष दुरुपयोग गरेको भन्ने बाबुराम भट्टराईले लगाएको आरोपबारेमा प्रतिक्रिया दिँदै उनले पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले हुँदै नभएको कुरामा आरोप लगाउनुमा उनको नियतनै ठिक नभएको टिप्पणी गरेका हुन् ।

सरकारका प्रवक्ता रहेका कार्कीले बाबुरामले आफ्नो कमजोरी लुकाउन आरोपको सहारा लिएको बताए ।
“बिरालो रिसायो भने रुख कोतर्न जान्छ भन्छन नि, अहिले त्यही भएको छ बाबुरामजीलाई ?” एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै मन्त्री कार्कीले भने, “कहाँ के भ्रष्टाचार छ, हिम्मत भए देखाउनुपर्यो ।”
सरकारका हरेक काम, कारवाही, खर्च विवरण पारदर्शी भएको बताउँदै प्रवक्ता कार्कीले राज्यले केही कतै दुरुपयोग गरेको भए त्यो देखाएर मात्रै तर्क गर्न चुनौती दिए । “बाबुरामजी जस्तो मान्छेले यस्तो कुतर्क गरेको सुहाएन ।” उनले भने, “अमूर्त कुरा गरेर हुँदैन, राज्यकोष दुरुपयोग भएको भए प्रमाणसहित जनतामा जानुस् ।”

आफू सत्तामा नहुँदा आरोप लगाउने प्रवृत्ति नयाँ नभएको कार्कीको टिप्पणी थियो । “सरकारले जनताको पक्षमा काम गरेको छ । सकेसम्म जनतालाई राहत हुने किसिमले कामहरु भएका छन् । राज्यकोषको दुरुपयोग रोकिएको छ । एउटा प्रधानमन्त्री भइसकेको व्यक्तिले यी सूचकहरु हेर्नुपर्दैन ? अमूर्त कुरा गरेर मात्रै हुन्छ ?” कार्कीले प्रश्न गरे ।

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराइले बिभिन्न आमसभा तथा सामाजिक सञ्जालमा प्रचण्ड सरकार इतिहासकै सबैभन्दा भ्रष्ट सरकार भएको आरोप लगाउँदै आएका छन् ।
प्रवक्ता कार्कीले भने सरकारले राज्यकोषको दुरुपयोग गरेर भोट प्रभावित गर्न कुनै काम गरेको भए त्यसलाई प्रमाणित गर्न भट्टराईलाई चुनौती दिएका छन् । “सिंहदरबार आएर हेर्दा हुन्छ, कहाँ के कति कोष बाँडिएको छ, कहाँ के दुरुपयोग भयो, सबै पारदर्शी छ ।”

कमेन्ट गर्नुहोस्

%d bloggers like this: