उम्मेदवार चयनमा व्यस्त राजनीतिक दल

नवलपरासी, वैशाख ३ । राजनीतिक दल यतिबेला स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनमा व्यस्त छन् । मधेस केन्द्रित दलबाहेक अरू सबै दल यतिबेला उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका हुन् ।

छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात वटा नगरपालिका र आठ वटा गाउँपालिका छ । गाउँपालिका वा नगरपालिकामा चयन हुने प्रमुख उपप्रमुख, सदस्य, महिला सदस्य, समावेशी सदस्य लगायतका सम्भावित उम्मेदवार छनौट गर्न लागिपरेका छन् ।
विशेषगरी जिल्लाका शीर्ष राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतले पार्टीभित्र लोकप्रिय र निर्वाचन जित्न सक्ने सम्भावित उम्मेदवार छनौटमा लगिपरेको पाइन्छ ।

सम्बद्ध दलले यतिबेला गाउँ वा नगरबाट सम्भावित उम्मेदवारको नामावली सङ्कलन गरी क्षेत्रमा पठाइसकेका छन् भने कुन उम्मेदवारले चुनाव जित्न सक्छ भन्ने योजनासाथ क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पठाउने अन्तिम तयारीमा रहेको बताइएको छ ।
१५ वटा स्थानीय तह निर्धारण गरिएको नवलपरासीमा विशेष गरी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि आफ्ना जायज माग पूरा गरी संविधान संशोधन गरे मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने मधेसी मार्चाको अडान कायमै छ । तर मधेसी मोर्चाले पनि आफ्नो चुुवानी अभियान बाहिर नदेखाए पनि आन्तरिक रुपमा तयारी गरिरहेको छ ।

नवलपरासीमा कुल तीन लाख ६९ हजार आठ सय ९४ मतदाता रहेकामा आठजना तेस्रोलिङ्गी छन् ।

यस जिल्लामा दुई सय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी करिब एक हजार जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता छन् । रासस

कमेन्ट गर्नुहोस्