मन्त्रीले दिए सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्न निर्देशन

काठमाडौं, वैशाख ३ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिदैँ मन्त्री शाहीले गर्मी तथा सुखायम सुरु भएकाले सहुलियत रुपमा जनतालाई खानेपानी उपलब्ध हुने गरि सार्वजनिक स्थलमा पानीको ट्यांकी राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

पानी प्रयोग गर्न नपाएर जनताले समस्या भोग्ने अवस्थाको अन्त्य गर्न आफूले विशेष राहतको कार्यक्रम ल्याएको मन्त्री शाहीले बताए ।

मन्त्री शाहीले भने, ‘ गर्मीको याममा बढी मात्रामा पानीको आवश्यकता पर्छ । यो समयमा शुद्ध पानीको प्रयोग गर्न नपाएर नागरिकले बिभिन्न रोगको सिकार हुनुपर्ने अवस्था आउँछ । सरकार भनेको जनतालाई सेवा सुविधा उपलब्ध गराउने निकाय हो । जनताको समस्या समाधान गर्नका लागि नै सरकार बनेको हो । त्यसैले सहुलियत रुपमा जनतालाई खानेपानी उपलब्ध हुने गरि सार्वजनिक स्थलमा पानीको ट्यांकी राख्ने व्यवस्था गर्नुपर्छ ।’

उनले यो समयमा खानेपानीको समस्या केहि हदसम्म समाधान गर्ने आफ्नो कार्ययोजना रहेको बताए ।

मन्त्री शाहीले केयुकेएललाई खानेपानी उत्पादन वृद्धि गर्न र खानेपानीको उचित व्यवस्थापन गर्दै जनतालाई राहत दिनका लागि वेलहरुको आवधिक मर्मत सम्भार गर्न, पानी अभाव हुन नदिनका लागि थप ट्युबेल निर्माण गर्न,विभिन्न वेलहरुमा ट्यांकरमा पानी भर्न मिल्ने व्यवस्था गर्न ,पानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भएपनि नागरिकलाई सहुलियत रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन् ।

त्यस्तै उनले सार्वजनिक स्थानमा खानेपानीको ट्यांकी राख्न ,सतहगत तथा जमिन मुनिको पानीको चुहावट पहिचान गरि उचित व्यवस्थापन गर्न र मर्मत सम्भार गर्न भनेका छन् ।

कमेन्ट गर्नुहोस्