चुनावमा सबै दल सहभागी गराउन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौं, वैशाख ३ । संसदको राज्य व्यवस्था समितिले आगामी निर्वाचनमा सबै दल सहभागी हुने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन र सबै दल सहभागी हुने वातावरण बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । मधेशी मोर्चामा आवद्धसहित असन्तुष्ट दल पनि निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने सुझाव सदस्यहरुले दिएपछि समितिले गृहलाई सो निर्देशन दिएको हो ।

यस्तै स्थानीय तह निर्वाचनलाई लक्षित गरी तय भएको निर्वाचन आचार संहिता कार्यान्वयनलाई कडाइ गर्न समितिले निर्वाचन आयोगलाई निर्देशन दिएको छ । चुनावको मिति नजिकिँदै जाँदा स्थानीय तहमा आचार संहिता विपरितको गतिविधी बढेको तर आयोगले कारवाही नगरेको भन्दै सांसदहरुले गुनासो गरेका थिए ।

आगामी निर्वाचनको अनुगमन राज्य व्यवस्था समितिले गर्ने निर्णय गर्दै बैठकले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन समेत निर्वाचन आयोगलाई निर्देशन दिएको छ । समितिले तराईका जिल्लाहरुमा आगलागीमा परेर घरवारविहीन परिवारको स्थलगत अवलोकन गरी तत्काल राहत र सहयोग उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले आज गृहमन्त्री, गृहसचिव, प्रमुख निर्वाचन आयुक्त, प्रहरी महानिरिक्षक र सशस्त्र प्रहरी महानिरिक्षकलाई बोलाएर आगामी स्थानीय तहको निर्वाचन र सुरक्षाका विषयमा छलफल गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: