डीपीएल क्रिकेटः चौथो खेल जित्दै रुपन्देही पहिलो स्थानमा

धनगढी, बैशाख ३ । धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार चौथो जित निकाल्दै रुपन्देही च्यालेन्जर्स पहिलो स्थानमा उक्लिएको छ ।

आइतबार बिहान भएको सातौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्गसलाई ६१ रनले हराएर अंक तालिकाको पहिलो स्थानमा पुगेको हो ।

सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्स अन्तिम थापाको सर्वाधिक ४५ रन मद्दतमा  निर्धारित बीस ओभरमा ८ विकेट गुमाई १ सय ३२ रन बनाएको थियो । रुपन्देहीका लागि कृष्ण कार्कीले २२, पुष्प थापा १७ र हरिशंकर शाहले १४ रनको योगदान दिए ।

१ सय ३३ रनको बिजयी लक्ष्य पछ्याएको विराटनगर किङ्गस १८ ओभर १ बलमा अलआउट हुँदै ७१ रनमै समेटियो ।

विराटनगरको व्याटिङ ध्वस्त पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सका साहव आलमले ४ विकेट लिए । उनले ४ ओभरमा जम्मा १९ रन दिए ।

 

अालम म्यान अफ दि म्याच समेत घोषित भए । विराटनगरलाई सस्तैमा रोक्न दिपेश श्रेष्ठ र कृष्ण कार्कीले समान ३/३ विकेट झारेका थिए ।

कमेन्ट गर्नुहोस्