सडक अनुशासनका लागि फुटपाथका पसल अवराेध

काठमाडौँ, वैशाख ३ । सडक अनुशासनलाई कडाइका साथ लागू गर्न फुटपाथका पसल हटाउने कार्यलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्रगतिमा लागिपरेका छन् ।

राजधानी सडकहरूमा फुटपाथ पसलका कारण मानिस हिँड्दा बढी दुर्घटना हुने गरेका कारण फुटपाथका हिँडाउनका निम्ति महाशाखाले काठमाडौँ महानगरपालिकासँग मिलेर पसल हटाउन लागेका हुन् ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले ट्राफिक प्रहरी, नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको सहयोगमा चैत २८ गतेदेखि फुटपाथ हटाउन थालिएको बताउनुभयो ।
उहाँले सडक सुरक्षाका लागि एक महिनासम्म जनचेतना जगाउने र उल्लङ्घन गरे कानुनी कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

यस्तै, महाशाखाले वैशाख १ गतेदेखि हर्न बजाउन निषेध गरेपछि सवारी चालक सजग भएर सवारी चलाउन थालेको र यसबाट दुर्घटनामा कमी आएको जनाएको छ ।

महाशाखाका प्रमुख लामाले अनावश्यक हर्न बजाउने दैनिक दुई सयभन्दा बढी सवारी साधनलाई कारबाहीको दायरामा ल्याइएको बताउनुभयो ।

नयाँ नीति अनुसार अत्यावश्यक अवस्था र घुम्तीमा बाहेक अन्य स्थानमा हर्न बजाउन पाइँदैन ।

कमेन्ट गर्नुहोस्