भ्रमणमा मात्रै साढे ६ करोड बढी खर्च, कूल खर्चको २५ प्रतिशत

काठमाडौं, वैशाख ४ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय क्षयरोग केन्द्रले भ्रमणमा मात्रै साढे ६ करोड बढी खर्च गरेको छ ।

नेपालमा क्षयरोगको समस्या खासै नियन्त्रण हुन नसकेपनि दातृ निकायबाट प्राप्त रकमको ठूलो हिस्सा भ्रमण भत्तामा सकिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

क्षयरोग नियन्त्रणका लागि ग्लोबल फण्ड र अन्य दातृ निकायबाट आर्थिक सहयोग पाएको केन्द्रको खर्च महालेखा परीक्षकबाट परीक्षण भएपछि यस्तो तथ्य सार्वजनिक भएको हो । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा २०७२ साउनदेखि ०७३ असार मसान्तसम्म भ्रमणमा मात्रै ६ करोड ६१ लाख खर्च भएको उल्लेख छ । तर केन्द्रले खर्चको बिस्तृत विवरण भने दिएको छैन ।
‘कार्यालयले भ्रमण शीर्षकमा खर्च गरेको रकममा को पदाधिकारी कुन स्थानमा गएको भन्ने विवरण देखाउन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसकारण कार्यालयले उपलब्ध गराएको विवरण अपारदर्शी छ।’

कार्यक्रमका लागि भनेआर्थिक वर्षमा कुल २४ करोड ५१ लाख ४३ हजार रुपैयाँ मात्र खर्च भएको छ। जसमध्ये ६ करोड ६१ लाख रुपैयाँ भ्रमण खर्च जोडिएको हो। जबकि उक्त कार्यालयलाई एक अर्ब २० करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। ‘उल्लेखित बजेट खर्चको विश्लेषण गर्दा विनियोजित बजेटको औसतमा २० दशमलव ४० प्रतिशत र वैदेशिक स्रोततर्फ २ दशमलव ६७ प्रतिशत मात्र खर्च गरेको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘खर्चको अवस्था हेर्दा कार्यक्रम कार्यान्वयनको पक्ष निराशाजनक र अनुत्पादक देखिन्छ।’

महालेखाले कार्यक्रम कार्यान्वयन पक्ष प्रभावकारी बनाई वैदेशिक अनुदान तथा ऋणको पूर्णरुपमा उपयोग गर्न कार्यालयलाई सुझाब दिएको छ।

कमेन्ट गर्नुहोस्