बोक्सी आरोपमा दम्पतीमाथि खुकुरी प्रहार

सिराहा, वैशाख ४ । सिरहाको धनगढीमाई नगरपालिका–६ मोतियाहीमा एक दम्पतीलाई बोक्सी भन्दै स्थानीयवासिन्दाले खुकुरी प्रहार गरेका छन् ।

स्थानीय एक किशोरीलाई टुनामुना गरी बिरामी बनाएको भन्दै ५५ वर्षका अशेश्वर यादव उनकी श्रीमती ५० वर्षीया कुसमादेवी यादवमाथि निर्घात कुटपिट गर्दै खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्दा कुसमाको हात, खुट्टा र टाउको गहिरो चोट लागेको छ । उनका पति अशेश्वरको बायाँ हत्केला, नाकमा चोट लागेको अस्पताले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते दुबैको लिला मदन पोलिक्लिनिक लहानमा उपचार भइरहेको छ ।

शिवकुमार यादवकी छोरी किरण भनिने अंशुकुमारी यादव पटक–पटक बिरामी पर्न थालेपछि ‘टुनामुना गरेर बिरामी बनाई’ भन्दै चैत ३१ गते बिहानै घरमै आएर तीन जनाले कुटपीट गरेको पीडित कुसमा यादवले भनिन् । घरमाई आई लछापछार गर्न थालेको र श्रीमानले आफूलाई बचाउन खोज्न झन खुकुरी नै प्रहार गरेको उपचाररत कुस्माले भनिन् ।

बोक्सीको आरोपमा दम्पतीलाई कुटपीट गर्ने स्थानीय शिवकुमार यादव, शिवकुमारका भाई विजय यादव र आशाराम दासलाई इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको प्रमुख डिएसपी हिरा बहादुर पाण्डेले बताएका छन् ।

कमेन्ट गर्नुहोस्