हरन किस्सा…!

कुरो आजकै हो । सोमबार, त्यहिँमाथि महामहिम राष्ट्रपतिको ४ दिने औपचारिक भारत भ्रमण । मन्त्रीपरिषदले जाने र आउने दिन सार्वजनिक विदा गरेको दिन । बिहानैबाट गुड्ने सवारीसाधनको सँख्या र मानिसको चहलपहल न्यून हुनु स्वभाविक थियो ।

रूद्रप्रसाद भट्टराई

अनामनगरको ग्रिन टीलाई स्वागत् गरेर पूजा प्रतिष्ठान मार्ग हुँदै घर फर्कन लागेको म बबुरोलाई सडक खाली देखेर हनुमानस्थान हुँदै नयाँ बानेश्वरबाट जान मनलाग्यो । ‘दोधारे मनले राम्रो गर्दैन’ भन्ने दिमागमा नआएको पनि होइन, तर म हुइकिएँ ।

हनुमानस्थान ! मैले उनको परिक्रमा गरेको १९ वर्ष भैसकेछ । ग्रहदशा कटाउन भनेरै हेरेको त धेरै भैसक्यो । त्यहि स्थानमा तीन जना प्रहरी जवान उभ्भिएका रहेछन् । बाइकले चितवन भेटघाट क्रस गर्यो तर अगाडि नेपाल यातायातको ठूलो बडीले मेरो आँखा छोप्यो । विवादबाट कहिल्यै पार पाउन नसकेको सो यातायातको छेउमा नजानु, व्यवस्था गरिदिन्छ भन्ने सान्दर्भिक भनाईलाई हृदयङ्गम गरी टीँटिँट् हरन थिचेँ ।

स्वीचबाट हात माथि राख्दै नेपाल यातायात क्रश गर्दैथिएँ, तीन भाइमध्ये एकले हात उठाएर रोक्नु भने घुमाउरो छेउमा । हतारो भएपनि हतपत्त ब्रेक दवाएँ र छेउमा रोकेँ ।

बा.३९ प. ६४५८ किनेको ९ वर्ष भयो । बाइकको चेहरा हेरेपछि एक्कासी भने ‘ब्लूबुक निकाल्नुस्, हरन किन बजाउनुभएको ?’ भन्नलाई उत्तरहरू धेरै थिए । मलाईपनि जाँच गर्न मनलाग्यो र साधारण प्रक्रिया अन्तर्गत कारवाहीमा साथ दिँदै गएँ ।

स्वीचबाट हात माथि राख्दै नेपाल यातायात क्रश गर्दैथिएँ, तीन भाइमध्ये एकले हात उठाएर रोक्नु भने घुमाउरो छेउमा । हतारो भएपनि हतपत्त ब्रेक दवाएँ र छेउमा रोकेँ ।

प्रहरी : हरन किन बजाउनुभयो ?
उत्तर : ला…बिर्सेँछु । हेर्नुस न ! बानी न हो झुक्किहालिएछ ।
त्यहिबेला प्रहरीले भन्यो कतिविघ्न बाँधेर राख्नुभाको हौ यो ब्लूबुक ! उसले खोल्नु अगाडि नै मैले नै प्लाष्टिकको बोरा खोलिदिएँ । अन्तिम पेज हेरे साथीले अनि फर्काइदिए । फेरी भने अब बिचार गर्नुस् है यो वार्निङ्ग हो । मैले भने ‘ओके’ ।

त्यहाँबाट अगाडि बढेपछि नयाँ बानेश्वरसम्मै हरनका नौला नौला गुन्जनहरू बजीनै रहे, त्यहाँ हेर्ने र नबजा भन्ने कोहि भेटिएन । फेरी सम्झेँ, ‘नेपालको कानुन दैव जानुन्’ । सबै सर्बसाधारणको नाम, अर्थात तेरे नाम ! कहिल्यै चुरोट नखानेलाई कसैले समात्न दिएको टुक्रोको कथाजस्तै । मपनि ती प्रहरी साथीलाई फनफनी घुमाउन सक्थेँ । अनेक उत्तरहरू थिए घुमाउनलाई । तर, प्रयोग गरिन । नियमको दोश्रो बुँदा काठमाण्डौका सडकमा २४ सै घण्टा यूज गर्न सकिन्थ्यो, मैले चाहिन । सर्वसाधारणकै शैलीमा प्रस्तुत भएँ ।

हरन किस्सालाई प्रस्तुत गर्न मन विहानबाटै लागिरहेको थियो । जसरी भएपनि समय मिलाएर लेख्ने सोच बनाएँ । बैशाख १ बाट उपत्यकामा आकस्मिक सेवा र अवस्था बाहेक हरन बजाउन निषेध गरेको थियो । पहिलो दिनबाटै सकारात्मक र नकारात्मक टिप्पणीहरू बजारभर कुनै न कुनै माध्यममा पोखिएकै थिए । त्यहि दिन सडकको माहौल हेर्न म पनि निस्केको थिएँ, विभिन्न ठाऊँहरूमा । ध्वनी प्रदुषण त्यो दिनबाट कम भएकै हुनुपर्छ भन्ने अनुमान मेरोपनि थियो । मैलेपनि साथ दिएँ, किनकी राम्रो काम थियो ।

सोचेजस्तो थिएन सडक र सवारीसाधनका गतिविधि । बजाउनेले बजाइरहेकै थियो, सुन्नेले सुनिरहेकै थिए । तर, डराएका थिए सवारीधनी ! कतै झ्याप्प हुने हो की भनेर । त्यहि रिसको झोँकमा कोटेश्वरदेखि सूर्यविनायकसम्म ननस्टप हरन बजाएर गएका घटनाहरू सुनिएका थिए । तर स्वीकार्नै पर्छ वाइयात हरन बजाउनेको सँख्यामा ह्वात्तै कमी आएको सत्य हो । क्रमशः बानी परेपछि यस क्षेत्रमा पनि सुधार हुनुले सकारात्मक सन्देश पक्कै जानेछ ।

हरन यस अवस्थामा प्रयोग गर्न सक्ने भनेर सम्बन्धित निकायले भनेको छ “आज मिति ०७४ बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा हर्न निषेध अभियानको शुरुवात गरिएको छ” । साथै निम्न अवस्थामा हर्न बजाउन सकिने जानकारी गराएको छ ।

१. अगाडिबाट आउने सवारी साधन नदेख्ने अवस्थामा, जस्तै घुम्ती वा मोहडामा,
२. हर्न नबजाउँदा दुर्घटना हुनसक्ने परिस्थितिमा हर्न बजाउन पाइनेछ ।

तर, दुई परिस्थिति बाहेकको अवस्थामा हर्न बजाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २२०४९ को दफाको (ग) बमोजिम कारबाही हुने बताइएको छ । यो नियम सार्वजनिक, निजी, पर्यटकबाहक र सरकारी सबै सवारी साधनमा लागू हुनेछ । तर आकस्मिक सवारी साधनको हकमा यो नियम लागूहुने छैन भनी निकायको सूचना रहेको छ ।

नियम जनताकै पक्षमा भएपनि आफूले पाएको सूचना सम्वन्धित निकायको जवानसम्म राम्ररी पुग्न सकेको छ की छैन चिन्ताको विषय हो । तर, हरन बजाएकै भरमा उम्कने वातावरणमा सवारी साधनकर्ता भएमा यो नियम धज्जीमा उड्ने ठूलो चिन्ताको विषय बनेको छ । नियम लगाएको मितिबाट अहिलेसम्मको प्रगति विवरणले सुधारको सँकेत गरेपनि भएका जनशक्तिबाट थपिँदै गरेका भारहरू कसरी व्यवस्थापन र निगरानी गर्न सक्छन् चासोको विषय बनेको छ ।

अन्त्यमा मैले हतारो निर्णय लिएँ, म हरन बजाउँदीन, गएर पीन खोलिदिन्छु । फेरी पर पुगेपछि ‘हैन हरन त चाहिन्छ हौ’ । पीन निकाल्न सकिन, आवश्यकता अनुसार हरनको प्रयोग गर्नेमा प्रतिवद्ध हुने प्रयास बरु गर्छु भनेर हुइँकिएँ । घर पूगेर किस्सा लेख्ने सोचेँ । ढाँटेर होइन यथार्थ लेख्छु, हरन किस्सा…!

कमेन्ट गर्नुहोस्

%d bloggers like this: