दलहरुबीच सहमति भए निर्वाचन सफल हुन्छ : सिंह

काठमाडौ, वैशाख ४ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान निर्माणमा सहमति जुटेजस्तै स्थानीय तहको निर्वाचनमा पनि दलहरुबीच सहमति जुट्नुपर्ने बताएका छन् ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिमा निर्माणाधीन गणेशमान सिंह स्मृति उद्यान मूलद्वारको स्थानीय जहरसिंहपौवामा उद्घाटन गर्दै दश महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने भएकाले दलहरुबीच सहमति आवश्यक रहेको बताएका छन् । नेता सिंहले वैशाख ३१ गतेको स्थानीय निर्वाचनको मिति कुनै हालतमा नसर्ने बताए ।

नेता सिंहले विसं २०४६ को परिवर्तनमा सिंहको ठूलो भूमिका रहेको छ भन्दै उनको स्मृतिमा उद्यान बनाएर उनको योगदानको उच्च मूल्याङ्कन भएको बताए ।

सांसद दीपकप्रसाद कुइँकेलले सामाजिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व बोकेको शङ्करापुरको विकासका लागि उद्यानबाट सहयोग पुग्ने बताए । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले विकासका लागि राजनीतिक दलभन्दा माथि उठेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उद्यानका अध्यक्ष शङ्कर तिवारी, काँग्रेस काठमाडौँ क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की, नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं २ का अध्यक्ष सुवर्ण श्रेष्ठ, नेता युपी लामिछाने, नेकपा ९माओवादी केन्द्र०का नेता मधु केसी, राप्रपाका नेता सूर्य तामाङलगायतले प्रशस्त सम्भावना बोकेको क्षेत्र शङ्करापुरको विकास र विस्तारका लागि आफूहरु एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विसं २०७१ देखि तीन सय रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त उद्यानको पूर्ण निर्माणमा रु तीन अर्ब लाग्ने उद्यान निर्माण समितिले जनाएको छ । हालसम्म रु चार करोड बराबरको काम भइसकेको छ ।

उद्यानभित्र फुटबल मैदान, ब्याडमिन्टन र भलिबल कोर्ट, दृश्यस्तम्भ, पोखरी, विमानस्थल, गणेशमान सिंहको सालिक, रेस्टुरेन्टलगायत रहने समितिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्