आयोगले निर्णय नसच्याए राप्रपाले सरकार छोड्ने, चुनावमा भाग नलिने !

दाङ, वैशाख ५ । उपप्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले राप्रपाको पार्टी विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् ।
रिपोटर्स क्लब दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गरेकोमा असन्तुष्टि जनाए । उनले भने– ‘आयोगको यो निर्णय अराजनैतिक र असंवैधानिक छ ।’

‘हामी निर्वाचन आयोगको एक पक्षीय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुनर्विचार नभए जस्तोसुकै कठोर निर्णय गर्न बाध्य हुनेछौं’ राप्रपाका अध्यक्ष समेत रहेका थापाले चेतावनी दिदैँ भने । उपप्रधानमन्त्री थापाले आफूहरुको माग सम्बोधन नभए सरकार र निर्वाचन दुबैमा सहभागी नहुने संकेत गरे ।

उनले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने भनाई राखे । ‘धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यी मान्यता संविधान अनुकुल छन् ?’ उनले प्रश्न गरे ।

थापाले चेतावनी दिदैँ भने– ‘एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।’
तर उहाँले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मितिमै निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरे ।
उहाँले मधेसी मोर्चा पनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: