भूकम्प प्रतिरोधी ८७ घर समुदायलाई हस्तान्तरण

बनेपा, वैशाख ५ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका पिपलटारमा निर्माण भएका ८७ भूकम्प प्रतिरोधी घर आज समुदायलाई हस्तान्तरण गरिएको छ ।

पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुव गैँडाले स्थानीय वेदबहादुर दनुवार र रानुकी दनुवारलाई संयुक्त रुपमा सो घर हस्तान्तरण गरेका हुन् ।

‘ह्याबिटयाट फर ह्युम्यानिटी’ नेपालको प्राविधिक तथा आर्थिक सहयोग र फर सस्टेनेबल डेभलपमेन्ट नेपालको साझेदारीमा निर्माण भएको एउटा घरको लागत रु आठ लाख छ । विसं २०७२ भदौ ३ गते सुरु भएको घर निर्माणको कार्य विसं २०७३ चैतमा सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख गैँडाले सरकारबाट मात्रै सबै कुरा सम्भव नहुने भएकाले यसमा अन्तर्राष्ट्रिय दाताकोसमेत सहयोग आवश्यक भएको उल्लेख गर्दै सीमान्तकृत समुदायलाई सरकारले प्राथमिकतामा राखेर काम गरेको बताए ।

गैर सरकारी संस्था ह्याबिटयाटका अधिकृत समिरराज दनुवारले परम्परागत रुपमा निर्माण भएका घर विस्थापन भएर नयाँ घरमा बस्न पाएको र त्यस क्षेत्रमा भूकम्पपीडितका लागि जीविकोपार्जनको काम समेत भइरहेको जानकारी दिए ।

स्थानीय शारदा दनुवारले पुस्तौँपुस्ताका लागि हुने घर निर्माण भएको उल्लेख गर्दै जीविकोपार्जनका लागि सीप सिकेर दक्ष भएको समेत जानकारी दिए ।

एकिकृत नमुना गाउँविकास परियोजना अन्तर्गत पाँचखालको अन्य ठाउँमा पनि यस्तै खालको २५० घर निर्माण गर्ने योजना रहेको सो अवसरमा जानकारी गराइएको हो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: