डोल्पामा जीप दुर्घटना, ४ को मृत्यु, २ घाइते

डोल्पा, बैशाख ५ । डोल्पाको ठूलो भेरी नगरपालिकाको भिठ्ठी भन्ने ठाउँमा आज एक बुलेराे जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

भिठ्ठीबेसीबाट सदरमुकाम दुनैतर्फ जाँदै गरेको भे १ च १२५१ नम्बरको जीप आज सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेहरुमा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी बुद्धसिंह कठायत, डोल्पाको ठूलोभेरी नगरपालिका–९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाही, ठूलोभेरी नगरपालिका–७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का ६० वर्षीय धर्मलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

दुर्घटनामा अन्य घाइते दुई जना पञ्च बुढा र केशर आचार्यको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोबाट इन्जिन फेल भएर जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

कमेन्ट गर्नुहोस्