विवादका कारण विश्वविद्यालयले गति लिन सकेन : प्रधानमन्त्री

काठमाडौं, बैशाख ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक व्यवस्थापन र जनशक्ति बिन्यासको अन्यौलले विश्व विद्यालयले गति लिन नसकेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले ठूलो अपेक्षा र रणनीतिक उद्देश्यसहित कृषि तथा बन विज्ञान विश्व विद्यालय स्थापना भएको स्मरण गराउँदै
सोचे अनुरुपको विश्वविद्यालयले गति लिन नसकेको बताएका छन् ।

प्रधानमन्त्री पचण्डले भने, ‘ठूलो अपेक्षा र रणनीतिक महत्वसहित यो विश्व विद्यालय स्थापना गरिएको हो । तर, यस बीचमा हामी भौतिक र जनशक्ति विवादको काममा अल्झियौं ।’

अब समस्या समाधान भइसकेकाले विभिन्न स्थापनामा प्राविधिक कलेजहरुलाई सम्बन्धन दिने निर्णयले विश्व विद्यालयलाई गति दिने प्रधानमन्त्री प्रचण्डले बताए । यसले अनुसन्धान, उत्पादन र विकासको क्षेत्रमा ठोस योगदान दिनेछमा आफू विश्वस्त भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

विशेष बैठकले सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रिबास, गोरखाको च्याङ्ली, स्याङ्जाको चापाकोट र रोल्पाको माडिचौरमा कृषि विषयको आङ्गिक क्याम्पस, कालिकोटको पादमघाट, गोरखाको घ्यालचोकमा कृषि विज्ञान केन्द्र र उदयपुरको कटारीमा बन क्याम्पस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले शिक्षक, कर्मचारी सेवा नियमावली २०६९ र आर्थिक प्रशासन नियमावली २०६९ मा संशोधन समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्