झाँक्री बनेर लाखौ ठग्ने पक्राउ

नुवाकोट, वैशाख ५ । नुवाकोटको विभिन्न स्थानका व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक प्रहरीले बतासेका ज्याम्बल तामाङलाई पक्राउ गरेको छ ।

गाउँका सोझासिधा महिलालाई व्यापार सङ्घको सदस्य बनाइदिने र विदेश सामाग्रीको बिक्री गरी दुई वर्षमा दोब्बर रकम कमाई हुने भन्दै पैसा उठाउने तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकको साविकको बतासे–८ का लामा ‘सेते कुमार’को नामबाट नुवाकोटमा धामीझाँक्री बनेर धेरे सोझा सिधालाई ठग्दै आएको प्रहरीले जनाएको छ ।

नुवाकोट दाङसिंहका तीन महिलासँग ठमेल व्यापार सङ्घको सदस्य बनाइदिने र त्यसबाट राम्रो कमाई हुने प्रलोभन दिएर रु २६ लाख ६४ हजार ठगी गरेका थिए ।

पक्राउ परेका तामाङले प्रहरीसमक्ष दाङसिङका माहिली तामाङसँग रु १० लाख ६४ हजार, सिर्जना लामासँग रु छ लाख ५० हजार र भीममाया तामाङसँग रु नौ लाख ४० हजार लिएको स्वीकारेका छन् ।

तामाङलाई प्रक्राउ गरेपछि दाङसिंहसहित अन्य स्थानबाट आफूलाई पनि ठगी गरेको भनी उजुरीहरू आइरहेकाले के कति जनासँग कति रकम ठगी गरेको भनी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: