चुनावको तयारीमा दुईजना महिला निर्वाचन अधिकृत,

भद्रपुर, वैशाख ६ । यही अाउँदो वैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको चुनावका लागि झापामा दुईजना महिला निर्वाचन अधिकृत खटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहको चुनावको तयारीका लागि यसरी खटिने महिला निर्वाचन अधिकृतमा गौरादह नगरपालिकामा शकुन्तला कार्की र मेचीनगर नगरपालिकामा इन्दिरा शर्मा रहेका छन् ।

उनीहरुले आ–आफ्ना कार्यक्षेत्रमा कुनै पनि किसिमको समस्या नभएको र स्थानीय जनता तथा राजनीतिक दलका प्रतिनिधि एवम् सरकारी कर्मचारीले पूर्ण सहयोग गरिरहेकाले निर्वाचन निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

गौरादह नगरपालिकामा अहिले मतदानस्थल २५ र मेचीनगर नगरपालिकामा ३५ हुने निर्वाचन कार्यालय भद्रपुरबाट जानकारी प्राप्त भए पनि यी दुबै स्थानमा कति मतदान केन्द्र हुने सूचना नआएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

नौवटा वडा रहेको गौरादह नगरपालिकामा पुरुष १७ हजार ३७३ र महिला १८ हजार ५९ सहित ३५ हजार ८८८ मतदाता छन् भने १५ वटा वडामा विभाजित मेचीनगर नगरपालिकामा सबैभन्दा बढी पुरुष ३६ हजार ८५७ र महिला ३५ हजार ९३७ गरी ७२ हजार ७९४ मतदाता रहेको बताइएको छ ।

गौरादह नगरपालिकामा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाउनुभएकी निर्वाचन अधिकृत शकुन्तला कार्कीले निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गते खुल्ने र यसका लागि गौरादह नगरपालिकाको वडा नं–१ को वडा कार्यालय भवन प्रयोग गर्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: