स्थानीय तहको चुनावमा उम्मेदवार छान्ने अन्तिम तयारीमा पुग्दै काँग्रेस

काठमाडौँ, वैशाख ६ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट नेपाली काँग्रेसले आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समितिअन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रिया थालिसकेको र यो काम अन्तिम चरणमा रहेको छ । काँग्रेसले यसअघि नै पार्टीका स्थानीय निकायमा संयन्त्र बनाई वैशाख ७ गते बिहीबारसम्म आफ्ना उम्मेदवारको टुङ्गो लगाउने निर्णय गरिसकेको छ ।

पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाई निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक÷दुई दिनभित्र पठाइसक्ने जनाएको छ ।

खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछि मात्र पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लाग्नेछ ।

मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीनप्रतिका दरले र १० प्रतिशत थप गरी कुल एक लाख १५ हजार एक सय ६३ पत्र (प्रत्येकमा पार्टीको छाप लगाई) पठाउन काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिए । यही वैशाख ४ गतेदेखि आधिकारिक मनोनयन पत्र पठाउन सुरु गरेको काँग्रेसले आजसम्म ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ ।

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिए ।

आयोगले उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुने जनाएको छ ।

आयोगले निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार छ सय ३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ। काँग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

पार्टीका तर्फबाट ७५ जिल्लामा खटिएका पदाधिकारीमध्ये नेताद्वय खुमबहादुर खड्का र केबी गुरुङ अस्वस्थताका कारण जिल्ला जान नसक्ने देखिएपछि नेता एवम् मन्त्रीद्वय डा प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई दुई-दुई जिल्लाको जिम्मेवारी दिइएको छ ।

बाँकी सबै जिल्लामा पदाधिकारी र सदस्य खटाइएको पार्टी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: