वार्ता र सहमतिबाट निकास खोज्न सकिन्छ : थापा

चितवन, वैशाख ६। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी मोर्चाले गरेको स्थानीय तहको निर्वाचन बहिस्कारको निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।

राप्रपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेता थापाले सिंहदरबारको अधिकार स्थानीय तहमा पु¥याउने यस महान अभियानमा सहभागिता जनाउन मोर्चालाई आग्रह गरेका छन् ।

उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहेका थापाले वार्ता र सहमतिको आधारमा निकास खोज्न सकिने बताउँदै मधेसी जनताको अधिकारका लागि सरकार र दलहरू तयार रहेको तर प्राप्तिको बाटो मात्रै फरक भएकाले सहमतिबाट नै अघि बढ्न आग्रह गरेका छन् ।

थापाले भने, “वार्ता र सहमतिको आधारमा निकास खोज्न सकिन्छ त्यसका लागि निर्वाचन वहिस्कार गर्न आवश्यक छैन ।”

सरकारले मोर्चालाई निर्वाचनमा सहभागी गराउनकै लागि संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेको समेत उनले बताए ।

मुलुकमा २० वर्षपछि निर्वाचन हुन लागेको भन्दै अध्यक्ष थापाले कोही पनि निर्वाचनबाट नछुटुन् भन्ने आग्रह गरे । स्वभिमानी राष्ट्रभक्त नेपाली भएर मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले मधेसवादी दलहरूलाई निर्वचनमा सहभागी गराउन सरकारसँग माग गरेका थिए ।

मधेसी दलहरूको स्थानीय तहको निर्वाचनमा सहभागिता नजनाउने निर्णयले नेपालको एक तिहाई भागलाई छाडेर निर्वाचन गर्न सम्भव नरहेको उनको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष एवम् भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले अहिले जनताले विकास चाहेकाले राप्रपाले जनताको चाहना पुरा गर्ने बताए ।

सो अवसरमा राप्रपाका महामन्त्री ध्रुवबहादुर प्रधानले जनताको अधिकार जनतालाई दिन निर्वाचन आवश्यक रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: