मधेसी मोर्चामा आबद्ध ६ दलविच आज पार्टी एकता हुने, उपेन्द्र यादवको पार्टी नमिसिने

काठमाडौं, बैसाख ७ । मधेसी मोर्चामा आबद्ध ६ दलविच आज पार्टी एकता हुने भएको छ । आज बुधबार महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीवीच औपचारिक रुपमा एकीकरणको घोषणा हुने बताइएको छ ।

मोर्चा आवद्ध दलहरुबीच बुधबार राति भएको छलफलले पार्टी एकता गर्ने निर्णय गरेको स्रोतले बताएको छ । तर छलफलमा संघीय समाजवादी फोरमको उपस्थिति भने थिएन ।

पार्टीमा पालै पालो नेतृत्व गर्ने सहमति भएको र ६ जनाको अध्यक्ष मण्डल बनाईएको छ । एकीकृत पार्टीको पहिलो अध्यक्षको कार्यकाल तमलोपा अध्यक्ष ठाकुरलाई दिने सहमति भएको छ ।
सहमति अनुसार पार्टीको नयाँ नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । पार्टीको चुनाव चिन्ह भने छाता राख्नेमा सबै नेताहरुले सहमति जनाएको बताइएको छ।
आज नै मोर्चा आबद्ध दलहरु एकताको लागि समय र  स्थानको टुङ्गो लगाउन बैठक बस्दै छन् ।

कमेन्ट गर्नुहोस्