भट्टराई सभापति, यादव अध्यक्ष, बाबुरामको पीडादायी स्खलन

क्रान्तिकारी बाबुरामको हदैसम्मको स्खलनले निम्त्यायाे वितृष्णा

प्रशान्त आजाद
आज बिहानै के मूड चलेर नेपालीपोष्टडटकम खोलेर त्यसको अभिलेखालय हेर्दै थिए । नेपाली प्रेसमाथि अंकुश लागेको बेला संकटकालिन समयमा अमेरिकाबाट प्रकाशित यो हुने यो अनलाईन लेखक, पाठक, नेता, कार्यकर्ता सबैमाझ लोकप्रिय थियो । वेभसाइटमा नेपालका बिभिन्न व्यक्तिका लेख पढ्न पाइन्थ्यो । भूमिगत अवस्थामा रहेका बाबुराम भट्टराईले समेत निरन्तर लेख्थे त्यतिबेला ।

बाबुराम एउटा आइकन थिए नेपाली क्रान्तिका । झुस्स दारीमा ल्याटिनहरुले लगाउने टोपी भिर्दा उनी चे ग्वेभारा भन्दा कम देखिँदैनथे । पिएचडी गरेका व्यक्ति, एसएलसीमा बोर्ड फष्ट भएको व्यक्ति पनि क्रान्तिमा भन्ने चर्चा हुन्थ्यो । बाबुरामले निरन्तररुपमा पार्टी र क्रान्तिका पक्षमा लेख्थे । पार्टी भित्र अन्तरविरोध चुलिएपनि उनको मूल स्पिरिट क्रान्तिकारी नै थियो ।
शान्तिकालमा आएपछि बाबुरामको उचाई झनै चुलियो । प्रचण्डसँग एउटै पोशाकमा देखिन्थे उनी । आम मानिसलाई लाग्थ्यो, नेपाली क्रान्तिका यी दुई नायक हुन । चे र फिडेल जस्ता । कतिपयले माओ र चाओ पनि भन्थे ।

बाबुरामका क्रान्ति, परिवर्तन, आन्दोलन, जनताको राज्यसत्ता जस्ता शीर्षकहरु वेभसाइटमा देखिरहेको बेला यता फेसबुकमा कसैले पोष्ट गरेको देखियो– उपेन्द्र यादवको शरणमा बाबुराम ।

कताकता नमीठो लाग्यो । एउटा इतिहास बोकेको व्यक्ति, हजारौं मुक्तिकामी जनतालाई सपना देखाएको व्यक्ति, लाखौंको आदर्श बनेको व्यक्ति आज फगत एउटा चुनावका लागि, बुर्जवा सत्तामा शक्ति प्राप्त गर्नका लागि उपेन्द्र यादवसँग एकता गर्दैछ । नयाँ शक्ति गठन गर्दा समेत यति दुख लागेको थिएन, जति बाबुरामको आजको स्खलन देख्दा पीडाबोध भयो ।
नयाँ शक्ति गठन गर्दा समेत बाबुरामको पक्षमा आम समर्थन देखिन्थ्यो । एउटा यथास्थितिवादी ढर्रामा चलिरहेको पार्टीगत राजनीतिबाट वाक्क भएको जमात बाबुरामसँग केही गरौं भनेर लाग्न चाहन्थ्यो । सैद्धान्तिकरुपमा उनले लाखौंका सपनाको हत्या गरेपनि आर्थिक विकास र समृद्धिका पक्षमा नै भएपनि बाबुरामले केही नयाँ गर्लान् भन्ने धेरैले सोचेका थिए ।
तर उपेन्द्र यादवसँगको एकता निश्चित भएपछि बाबुराम पनि उही डुंगाका यात्री पो रहेछन् भन्ने वितृष्णा आम रुपमा उत्पन्न भएको छ । उनले भनेको नयाँ सबै ढाेंग रहेछ, यो सबै नौटंकी रहेछ र उनी त आफ्नो फाइदाका लागि जे पनि गर्न सक्ने रहेछन् भन्ने कुरा प्रष्ट देखिएको छ ।

बाबुरामजी, उपेन्द्र यादवले बोकेको बिचार, चिन्तन, कार्यशैली, आचरण र व्यवहारले के चाहिँ नयाँ बन्छ र ? नयाँ शक्तिका पाँच वटा शहरु र उपेन्द्र यादवको दर्शन कहाँनेर मेल खान्छ चुनावमा भोट बैंक बढ्ने बाहेक ? तपाईले भनेको नयाँ संस्कार, नयाँ शैली, नयाँ पद्दती, नयाँ सपना कसरी पुरा हुन्छ यथास्थितिवादीहरुसँग एकता गरेर ? भोलीका दिनमा राप्रपाको कुनै खेमाले पार्टी एकता गर्न खोज्ला, मान्नुहुन्छ तपाई ? एमाले र माओवादी किन बिग्रिएका हुन भन्ने कुरा तपाईलाई सिकाइरहनु पर्ला र ? तपाई त झनै त्यही दिशामा स्खलित हुनु भयो । अलिकति पनि लज्जाबोध हुन्न तपाईलाई ?

कमेन्ट गर्नुहोस्