स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थामा सरकार प्रतिबद्ध हुनुपर्ने : गृहमन्त्री

काठमाडौं, वैशाख ७। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयनको कोसेढुंगाको रूपमा रहेको स्थानीय तहको चुनावलाई व्यवस्थित बनाउन सरकार प्रतिवद्ध रहेको बताएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थाबारे संसदको आजको बैठकलाई जानकारी गराउँदै गृहमन्त्री निधिले स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न निर्वाचन अगाडी र पछि पनि पूर्णरूपमा सुरक्षा प्रदान गरिने बताए ।

प्रमुख प्रतिपक्षी एमालेले सप्तरी लगायत तराईका बिभिन्न जिल्लामा शान्ति सुरक्षा कमजोर रहेको भन्दै संसदको ध्यानाकर्षण गराएपछि सभामुख ओनसरी घर्तीले निर्वाचनसम्बन्धमा सरकारको तयारी र सुरक्षा व्यवस्थाबारे संसदलाई जानकारी दिन गृहमन्त्री निधिलाई रुलिङ गरेको थियो ।

मुलुक निर्वाचनतर्फ उन्मुख भईरहेको अवस्थामा प्रहरी प्रशासनलाई सक्रिय बनाएको भन्दै मन्त्री निधिले सरकार आफ्नो दायित्वप्रति कटिवद्ध रहेको उल्लेख गरे ।

मन्त्री निधिले मुलुकका विभिन्न स्थानमा भएका आगलागीका पीडितलाई राहतका लागि २ करोड १८ लाख रकम निकास गरिएको जानकारी पनि संसदलाई गराएको छ ।

यसैबीच, संसद बैठक आगामी १० गतेसम्मका लागि स्थगित भएको छ । सरकारले विभिन्न विधेयक प्रस्तुत गर्नेक्रममा गणपुरक संख्या नपुगेपछि बैठक आगामी आइतबार अपरान्ह तीन बजेसम्मका लागि स्थगित भएको हो ।

कमेन्ट गर्नुहोस्